प्याजको मुल्यमा ३०० प्रतिशतले वृद्दि, अझै बढ्न सक्ने

साउन २९, काठमाडौं । बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ । अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । उपत्यकामा अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ५५ र तराईमा ६० रुपैयाँ छ । मूल्यवृद्धिका कारण प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ८० देखि ८५ रुपैयाँसम्म रहेको व्यवसायीको भनाइ छ । मूल्यवृद्धिअघि उपत्यकामा प्याजको थोक मूल्य प्रतिकिलो २३ देखि २५ रुपैयाँ थियो । भारतमा अझै केही दिन बाढीको समस्या यथावत् रहे प्याजको मूल्य प्रतिकिलो सय रुपैयाँ नाघ्न सक्ने प्याज आयातकर्ता अर्जुन सिलवालले बताए ।

भारतमा उत्पादित प्याज अविरल वर्षा र बाढीका कारण नष्ट हुँदा माग र आपूर्तिबीच तालमेल मिलेको छैन । यसले मूल्य अकासिएको उनको भनाइ छ । ‘वर्षापछि आएको बाढी र डुबानका कारण प्याजको भण्डार पनि प्रभावित भएकाले भारतमै मूल्य बढेको छ’, सिलवालले भने, ‘भारतमा मूल्य बढ्दा नेपालमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो ।’ डेढ महिनाअघि भारतीय किसानले सरकारलाई प्रतिकिलो आठ रुपैयाँमा प्याज बेचेका थिए । भारतमा ठूलो परिमाणमा प्याज उत्पादन भएपछि मूल्य अभावमा सरकारले नै किसानबाट प्याज खरिद गरिदिएको थियो ।

यसरी खरिद भएको प्याज सरकारले पाँच रुपैयाँ प्रतिकिलोमा व्यवसायीलाई बिक्री गरेको थियो । उक्त प्याज व्यवसायीले डेढ साताअघिसम्म प्रतिकिलो भारतीय रुपैयाँ १८ मा बिक्री गर्दै आएका थिए । तर, भण्डारमा राखिएको प्याज पानीले नष्ट भएपछि थोकमै एक सातायता प्रतिकिलो भारु ३० मा बिक्री हुँदै आएको छ । अाजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु