असनेपाल न्युज । विश्वकै सबैभन्दा महंगो खेलाडीका रुपमा बार्सिलोनाबाट पिएसजी पुगेका नेमारले आफू पैसाको लागी नभर्इ ‘मन’को कुरा सुनेर पिएसजी आएको उनले बताए।
‘मेरो मनले भन्यो, यो पिएसजी जाने समय हो, त्यसैले म आएँ,’ शुक्रबार पेरिसमा आयोजित पत्रकार सम्मेलनमा नेमारले भने, ‘म पैसाबाट उत्प्रेरित हुन्नँ। मेरो मुख्य चासो त्यो होइन। पैसाको पछि लागेको भए त म बार्सिलोना पनि पुग्दिनथेँ, यतिबेला कुनै अर्को देशमा हुन्थेँ।’
‘म निकै खुसी छु, कति खुसी छु, व्याख्या गर्नै गाह्रो छ,’ नेमारले थपे, ‘बार्सिलोनामा मेरो आत्मीय मित्रहरु छन्, त्यसैले त्यो ठाउँ छोड्न निकै गाह्रो भयो। यहाँ पनि मेरा साथीहरु छन्, त्यसैले यो ठाउँ आफ्नै घरजस्तो लाग्न थालिसकेको छ।’
पिएसजीका मालिक नासेर अल खलेफीले नेमारलाई सर्वोत्कृष्ट खेलाडीको संज्ञा दिँदै नेमार भित्र्याउँदा लगानी गरेको रकमभन्दा बढी आम्दानी हुने स्वीकार गरे। उनले नेमारको आगमनबाट क्लबको मूल्यमा ५० करोड डलरभन्दा बढी वृद्धि भएको बताए।








