सभासदहरुलाई अंग्रेजी भाषा सिकाइने

भदौ २६, काठमाडौ – संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति मातहतको तालिम, गोष्ठी, कार्यशाला र अन्तरक्रिया व्यवस्थापन उपसमितिले सभासद्हरूलाई अङ्ग्रेजी भाषाको ज्ञान दिलाउन कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

बैठकमा सदस्यबाट व्यक्त भावनालाई ध्यानमा राखेर उपसमिति आगामी दसैं पछिलगत्तै अङ्ग्रजी भाषाको बोलाइ तथा सिकाइसम्बन्धी तालिम सञ्चालन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको हो ।

यस्तो तालिम तथा प्रशिक्षणबाट सभासद्हरूको अन्तर्राष्ट्रिय भाषाको ज्ञान सम्बन्धमा क्षमता अभिवृद्धि भई विश्वका कतिपय संविधानमा भएका प्रावधानबारेमा जानकारी हासिल गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।

बैठकमा अङ्ग्रेजी भाषाको तालिमविज्ञ सभासद् तथा सचिवालयका कर्मचारीबाटै दिने व्यवस्था गरिनुपर्नेमा सदस्यले बैठकमा जोड दिए ।

बैठकको अध्यक्षता गरिरहेका सभासद् जयन्ती राईसँग समय लिएर उपसमितिका सदस्य लक्ष्मी राईले आफूसँग लामो समयसम्म कलेज पढाएको अनुभव भएकाले सभासद्का लागि दिने अङ्ग्रेजी भाषाको तालिम निःशुल्क प्रदान गर्ने घोषणा गरिन् ।

क्षमता कसैको पनि बराबर हुँदैन, एकअर्कासँग अनुभव साटेर समेत क्षमता अभिवृद्धि गर्न सकिने हुनाले क्षमता नभएका सभासद्हरूमात्रै यस समितिमा छन् भन्ने ढङ्गबाट चलाइँदै आएका हल्लालाई गलत सावित गर्न सुझबुझका साथ दिएको जिम्मेवारीलाई समयमै पूरा गर्न आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

बैठकमा सभासद्हरूले क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने ल्यापटप र इन्टरनेट सुविधा प्राप्त गर्ने सम्बन्धमा भइरहेको प्रगतिका बारेमा सचिवालयका पदाधिकारीसँग जानकारीसमेत लिएका थिए ।

संविधानसभाको कार्यतालिकाअनुसार भदौ २१ गतेभित्र दिएको जिम्मेवारीअनुसार माग पहिचान गरी सम्पादन र परिमार्जनसमेत समितिले गरेर बुझाइसकेको हिमलाल सुवेदीले जानकारी दिए ।

बैठकमा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने नेत्रीहरूबाट प्रेरणा लिएर महिलालाई समान अधिकार दिने पहिलो कडीका रुपमा सन्ततिलाई नागरिकता दिँदा आमा र बाबु दुवैको नामलाई अनिवार्य गर्नुपर्ने विचारले समेत प्रवेश पाएको थियो ।

साभार: इकान्तिपुर

सम्बन्धित शिर्षकहरु