असार ३ । काठमाडौं, विधुत विकास विभागले हालै सूचना प्रकाशित गरी सर्बेक्षण अनुमति लिएर काम नगरी बसेका १ सय ५४ वटा साना जलविद्युत आयोजनाको निर्माण प्रक्रियाका लागि दिइएको ‘जानकारी स्वीकृति पत्र’ रद्द गरेको छ । विभागका प्रवक्ता बाबुराज अधिकारीका अनुसार यसरी खारेज हुने कम्पनीमा २० वर्षदेखि ३ वर्ष अघिसम्मका छन् । रद्द हुनेमा १ मेगावाटको घट्टे खोला एसएचपि, अप्पर न्याम खोला ,कालागढ क्रिन्चे, अपर खिम्ती खोला, गुमु खोला, इदि खोला र सान्जे खोला रहेका छन् भने अन्य १ मेगावाट भन्दा साना योजना रहेका छन् ।
जानकारी स्वीकृतिपत्र लिएको २ वर्ष भित्र सर्वेक्षण, विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौताका साथै निर्माण कार्य पनि सुरु गर्नु पर्ने प्रावधान भएपनि यी १ सय ५४ वटा आयोजनाले ती कुनै पनि काम गरेका थिएनन् । वर्षौ देखि यस्ता आयोजनाका लागी स्वीकृति पत्र पाएका कम्पनीहरुले निर्माण गर्ने भन्दा पनि आफुले पाएको लाइसेन्स अन्यलाई बेच्ने गर्दछन् । कम शुल्कमा जानकारी स्वकिृति पत्र लिएर निर्माण नगरी राख्ने अनि निर्माण गर्न खोज्नेलाई चर्कोमा बेच्ने यस्ता कम्पनीको मूख्य उदेश्य हुन्छ ।
विभागले २०७३ को चैत २४ गते एक सूचना जारी गर्दै ३५ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएपनि आयोजनाले ताकिएको समयभित्र प्रगति बिबरण बुझाएनन् । यसरी बिबरण नबुझाएपछि विभागले आयोजना होल्ड गर्ने मात्रै उद्देश्य राखेको भन्दै स्वीकृति रद्द गरेको हो ।








