सबै दलको सहमतिमा निर्वाचन : कांग्रेस

काठमाडौं, १७ वैशाख – स्थानीय तहको निर्वाचनमा सबै दललाई समेटेर जाने निर्णय नेपाली कांग्रेसले गरेको छ । आइतबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई-मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गरी देशमा चुनावको माहोल बनाउन कांग्रेसले विशेष भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको सांसद रामकृष्ण यादवले बताए । यही वैशाख ३१ निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवम् नगरपालिकाका उम्मेदवारको टुङ्गो कांग्रेसले लगाएको छ । टुङ्गो लागिसकेकाहरुलाई ‘टिकट’ पठाइसकिएको मुख्यसचिव पौडेलले बताए । बाँकी स्थानीय तहमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली सोमबार बिहानसम्म तयार पार्ने निर्णय भएको छ ।

सो बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पूर्वपदाधिकारीको पनि उपस्थिति थियो ।

सम्बन्धित शिर्षकहरु