भदौ १० ।काठमाडौ, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले सत्तापक्ष र प्रतिपक्षबीच समझदारी गरेर चल्ने प्रस्ताव गरिएको भएपनि सत्तापक्षले संविधान जारी गर्न अविश्वासको वातावरण बनाएको आरोप लगाउनु भएको छ ।
सरकारले मूल्यवृद्धि र बजेट निर्माणमा समेत गम्भीरता नदेखाएर संविधान जारी गर्न विगतको सहमतिलाई तोडेर एकलौटी ढङ्गले अघि बढी अविश्वासको वातावरण बनाउने काम गरेको उहाको आरोप छ ।
एनेकपा माओवादीका अध्यक्ष समेत रहनु भएका प्रचन्डले शास्त्रीय सत्ता पक्षको भूमिका निर्वाह गरेर संविधान निर्माण नहुने भन्दै विगतमा भएका विभिन्न आन्दोलनको जगलाई आधार बनाएर संविधान निर्माणमा अघि बढ्न आग्रह गर्नु भयो ।
व्यवस्थापिका-संसदको आजको बैठकमा विशेष समय लिएर उहाँले सरकारमा रहेको र ठूलो पार्टी पनि भएकाले सत्तारूढ दलका नेताहरूलाई सहमतिको वातावरण बनाउन औपचारिक मात्र होइन अनौपचारिकरूपले पछि छलफल अघि बढाउन गरिएको आग्रह पनि बेवास्ता गरिएको उल्लेख गर्नुभयो ।
सहमति निर्माणको लागि कार्यतालिकाबमोजिम अघि बढ्न ११ दिन बाँकी छँदा पनि सत्तारूढ दलका नेताहरू चीन भ्रमण तथा भारत भ्रमणमा लागेका छन् भने सत्तापक्षकै अन्य नेताले माघ ८ मै किन संविधान बनाउने र चार वर्ष छँदैछ भन्नेजस्ता अभिव्यक्ति दिएको गुनासो पनि उहाँले गर्नुभयो ।
दोस्रो संविधासभापछि चारबुँदे सहमतिबमोजिम संविधान निर्माणको सम्भावना बढ्दै आएको अवस्थामा सहमतिलाई इन्कार गरी सरकार अघि बढेको आरोप लगाउँदै अध्यक्ष दाहालले २०७० पुस ९ मा भएको सो सहमतिका बुँदा पढेर सुनाउँदै चारबुँदे सहतिलाई रद्दीको टोकरीमा फालेर आफ्नै हिसाबले सरकार अघि बढेको छ भन्नुभयो ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पनि विगतमा भएका सहमति कार्यान्वयन हुन नसके सदनको कारबाही अघि बढ्न सक्दैन भन्नुभयो ।
सङ््घीय गणतान्त्रिक मोर्चाले पनि यस विषयमा गम्भीररूपले छलफल गरिरहेको उल्लेख गर्दै उहाँले छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउनेतर्फ चासो नदिएको आरोप लगाउनुभयो ।
सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले सहमति गर्नुभन्दा पहिला गम्भीर भएर सोच्नुपर्ने र सहमतिमा हस्ताक्षर भएपछि कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।
नेपाली काँगे्रसका सांसद् अमरेशकुमार सिंहले जनताको सुसूचित हुने अधिकार कुष्ठित हुनु र प्रेसमाथि अतिक्रमण तथा अवरोध सिर्जना गर्नेजस्ता क्रियाकलापले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अप्ठयारो हुने धारणा व्यक्त गर्नुभयो ।
एनेकपा माओवादीकै अग्निप्रसाद सापकोटाले बाढी पहिरोले सिन्धुपाल्चोकको जलबिरे जोखिममा परेको र देशका अन्य भागमा पनि बाढी पहिरोले आक्रान्त पार्दा मन्त्रीका भाषण र प्रतिबद्धता कृतिम जस्तो देखिएको छ भन्नुभयो ।
सभामुख सुवास नेम्वाङले बाढी पहिरोका सम्बन्धमा सदनबाट रूलिङ भइसकेको, यस विषयमा धेरै छलफल पनि भएको र सम्बन्धित समितिले पनि छलफल अघि बढाइ काम अघि बढेको सो अवसरमा उल्लेख गर्नुभयो ।
बैठकमा कमला शर्मा, उषा गुरुङ, अभिशेकप्रताप साह, मधुशाही ठकुरी, कलशादेवी महरा र डा. चन्द्रमोहन यादवलगायतले समसामयिक विषयमाथि आ-आफ्नो धारणा राख्नुभएको थियो ।








