अमेकिाद्वारा सिरियामा हमला

काठमाडौं । सिरियाली सेनाको नेतृत्वमा रुसी सेनासमेत सम्मिलित टोलीले केही दिनअघि सिरियाको इदलिवमा गरेको रासायनिक आक्रमणको निन्दा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा प्रतिक्रिया आइरहेका बेला बिहीबार राति अमेरिकाले सिरियाको एयरबेसमा दर्जनौं क्रूज मिसाइलद्वारा आक्रमण गरेको छ । ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि बाह्य देशविरुद्ध अमेरिकाद्वारा गरिएको यो आक्रमण पहिलो हो ।
समाचारअनुसार, एक अमेरिकी सैनिकले यस आक्रमणको पुष्टि गर्दै भनेका छन्, ‘‘बिहीबार सिरियाको एयरबेसमा दर्जनौं टमहक मिसाइलद्वारा हमला गरिएको छ । सिरियाली राष्ट्रपति बसर अल असदका नजिक रहेको सैन्य शक्तिमाथि ह्वाइट हाउसले गरेको यस्तो खाले कडा कारबाही पहिलो हो ।’’
यस सप्ताहको प्रारम्भमा सिरिया सरकारद्वारा आफ्नै भूमिमा गरिएको रासायनिक हमलामा झन्डै १०० जनाको मृत्यु भएको थियो, जसमा मर्नेहरू अधिकांश बालबालिका थिए । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार, अमेरिकाले अहिलेसम्म सिरिया, यमन र इराकमा जुन अपरेसन गरिरहेको थियो, त्यो पहिले नै निर्धारित योजनाअन्तर्गत अमेरिकी सैन्य अधिकारीहरूको सिधा रेखदेखमा भैरहेको थियो । सिरियामाथि आक्रमण गर्ने ट्रम्पको यो पछिल्लो निर्णयलाई उत्तर कोरिया, इरान र यस्तै खालका उदीयमान अमेरिकाविरोधी शक्तिविरुद्धको सन्देशका रूपमा समेत लिइएको छ । नवभारत टाइम्स लेख्छ, यसको सिधा अर्थ हो– अमेरिकाको नयाँ सत्ता जवाफी हमला गर्नका लागि पूरै तयार छ र कतिपय स्थितिमा चेतावनी नदिईकनै पनि हमला गर्छ ।
ट्रम्पले भनेका थिए, ‘‘सिरियामा भएको रासायनिक हमलाका लागि राष्ट्रपति बसर जिम्मेवार छन् भन्ने कुरामा कुनै शंका छैन । उनले निर्दोष र मायालु बालबालिका, महिला र निरीह मान्छेहरूको रगत बगाइरहेका छन् ।’’
समाचार एजेन्सी रोयटरका अनुसार, सत्तासीन बनेपछि राष्ट्रपति ट्रम्प विदेशनीतिमा सन्तुलनको संकटबाट लगातार जुधिरहेका छन् । सिरियामाथि उनको आक्रमणलाई अहिलेसम्मको सबैभन्दा ‘टफ एक्सन’ मानिएको छ । दैनिक भास्करले दिएको समाचारअनुसार, अमेरिकी मिसाइलहरूले शायरत एयरबेसलाई निसाना बनाएका छन् । सिरियाका विद्रोहीहरूको इलाकामा भएका रासायनिक हमलाहरू यसै एयरबेसबाट गरिएको अमेरिकाको बुझाइ छ । हमलाका क्रममा झन्डै ६० वटा टमहक मिसाइलहरू भूमध्यसागरमा हानिएको थियो ।
अहिले चीनका राष्ट्रपति सी जिनपिङ अमेरिकाको भ्रमणमा रहेका छन् । उनले बिहीबार फ्लोरिडाको मार–ए–लेगो रिसोर्टमा ट्रम्पसँग भेटवार्ता गरेका थिए । सो अवसरमा ट्रम्पले भनेका थिए, ‘‘सिरियालाई लिएर कुनै फैसला हुन सक्छ । असदका बारेमा ह्वाइट हाउस र पेन्टागन (युएस डिफेन्स डिपार्टमेन्ट) ले ‘मिलिट्री अप्सन’ बारे विचार गर्न सक्छन् ।’’
ट्रम्प मूर्ख हुन् : आईएसआईएस
केही दिनअघि उग्रवादी इस्लामिक संगठन आईएसआईएसले ट्रम्पलाई ‘मूर्ख’ भनेर टिप्पणी गरेको थियो । एनबीसी न्युजमा प्रकाशित रिपोर्टमा जनाइएअनुसार, आईएसआईएसका तर्फबाट यसका प्रवक्ता अबु हसन अल मुजाहिरले केही दिनअघि प्रसारित ३६ मिनेट लामो भिडियो वक्तव्यमा भनेका थिए, ‘‘सिरिया, इराक र इस्लामका बारेमा ट्रम्प केही पनि जान्दैनन् । उनी सत्तामा आउनु भनेको अमेरिका ढुटे बन्न लागेको संकेत हो । अब अमेरिका डुबेको छ । यसलाई बचाउन सक्ने कोही छैन । यो सबैलाई राम्ररी थाहा भैसकेको छ । यस कुराको योभन्दा ठूलो प्रमाण के हुन सक्छ, जब अमेरिकालाई एक जना बेवकुफले चलाइरहेको छ, जसलाई सिरिया, इराक र इस्लामका बारेमा केही थाहा छैन र जो इस्लामविरुद्ध सधै युद्धको कुरा गर्छ ।’’
सन् २०११ मा घटेको एक सानो घटनाले सिरियामा गृहयुद्धको रूप लिएको हो । केही बालबालिकाको गिरफ्तारीबाट सुरु भएको यो संघर्ष दोस्रो विश्वयुद्धपछिको संसारकै सबभन्दा ठूलो मानवीय संकट बन्न पुगेको छ । राष्ट्रपति बसर अल असदविरुद्ध सुरु भएका हिंस्रक प्रदर्शन र संघर्षहरूमा अहिलेसम्म झन्डै तीन लाख व्यक्तिले ज्यान गुमाइसकेका छन् । जुलाई २०११ मा सरकारविरुद्ध आवाज उठाउँदै सिरियन आर्मीको एउटा टोलीले सेनाबाट अलग भएर फ्री सिरियन आर्मी नामक संगठन बनाएको थियो । डिसेम्बर २०११ देखि २०१२ सम्ममा ठाउँ ठाउँमा आत्मघाती बम विस्फोटहरू भए । यसपछि इस्लामिक आतंकवादी संगठन अल कायदाका नेता अयमान अल जवाहिरीले सिरियाका जनतालाई ‘जेहाद’ का लागि अगाडि आउन अपिल गरे ।
बितेका दुई वर्षयता असदसँग लड्न भनेर आईएसले समेत आफ्ना आतंककारी दस्तालाई सिरिया पठाउने गरेको छ । राष्ट्रपति असदको सिरिया डेमोक्रेटिक फोर्सेस नामको सेनालाई रुस र इरानले सहयोग गरिरहेका छन् भने अमेरिकामाथि असदका विरोधीहरूलाई सहयोग गरिरहेको आरोप छ ।

सम्बन्धित शिर्षकहरु