काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत २२ आंगिक तथा साढे दुई सय सम्बन्ध प्राप्त क्याम्पसहरूमा बुधबार सम्पन्न स्ववियु निर्वाचनको परिणाम सार्वजनिक भएको छ । परिणाममा विद्यार्थी संगठनको आ–आफ्नै दाबी रहेको छ । संगठनले उपलव्ध गराएको तथ्यांक अनुसार बिहीबार साँझसम्म नेविसंघले १ सय ६, एमाले अखिल १ सय १, अखिल क्रान्तिकारीले ७३ कलेजमा अध्यक्ष जितेको दाबी गरिएको छ । त्यस्तै राप्रविसंघले तीन कलेजमा विजय हासिल गरेको बताइएको छ ।
नयाँ शक्ति नेपाल निकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले दुई वटा कलेजमा जितेको छ । नेविसंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बुधबार देशभरका २ सय ३० भन्दा बढी क्यामपसमा भएको निर्वाचनमा १ सय ६ वटा क्यामपसमा नेतृत्व पाउन सफल भएको दाबी गरेको हो ।
त्यस्तै ४२ वटा क्यामपसमा सचिवसहित प्यानल नै विजय भएको नेविसंघले जनाएको छ । विवादका कारण रोकिएका सबै क्यामपसहरुमा पनि तत्काल निर्वाचनको मिति घोषणा गर्न नेविसंघले त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले स्ववियु निर्वाचनको नतिजाबाट आफूहरुमा उर्जा थपेको बताएकी छन् ।
लामाले मेची बहुमुखी क्याम्पस, कृषि क्यामपस लमजुङ र जनप्रशासन क्यामपस काठमाडौंको निर्वाचनमा धाँधली भएको भन्दै पुनःनिर्वाचनको माग गरेकी छन् ।
यस्तै अखिल क्रान्तिकारीका उपाध्यक्ष एवम् प्रवक्ता सुरेन्द्र बस्नेतले क्रान्तिकारीले अहिलेसम्म तीन ७३ क्याम्पसमा अध्यक्ष जितेको दाबी गरे । उनकाअनुसार ३० बढी कलेजमा क्रान्तिकारीले प्यानलसहित विजय हासिल गरेको छ ।








