काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) आफ्नै लगानीमा नेपालले बनाउने बताएका छन् ।
सोमबार दिउँसो फास्ट ट्रयाक निर्माणका लागि निजगढबाट पैदल मार्गमार्फत् प्रधानमन्त्रीसँग ज्ञापनपत्र बुझाउन आएका युवाको ज्ञापनपत्र बुझ्दै उनले फास्ट ट्रयाक नेपाल आफैंँले बनाउने निर्णय गरिसकेको बताएका हुन् । “फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्छ, छिटो बनाउनुपर्छ भनेर तपाईंहरू जसरी दवाव दिन आउनुभएको छ, यो आफैमा मौलिक छ । तपाईंहरूको यो अभियान सरकारका लागि नैतिक दवाव र उर्जाको अर्थमा मैले लिएको छु । सरकार फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ । सरकारले छिटै काम अघि बढाउँछ,” प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जानकारी दियो ।
विकासका लागि युवाहरुको एकता र उर्जा प्रेरणादायी भएकोमा जोड दिँदै प्रधानमन्त्रीले भने “राजनीतिक उद्देश्यका लागि त यस्ता पैदल यात्रा धेरै भए । तर, विकासका लागि पैदल यात्रा र दवाव त्यति धेरै हुने गरेका छैनन् । तपाईंको चासो र चिन्तालाई सरकारले गम्भीरतापूर्वक लिन्छ । फास्ट ट्रयाक निर्माणका लागि तपाईंहरूले जुन सामग्री दिनुभएको छ, यसलाई म तुरुन्तै सम्बन्धित मन्त्रालय र विभागमा पठाउँछु । यहाँहरुले दिएका सामग्री हाम्रा लागि सर्कुलरको अर्थमा लिएको छु ।’
ज्ञापन पत्र बुझाउन आएको टोलीले बारा जिल्लामा अवस्थित ठूला राष्ट्रिय गौरवका आयोजना काठमाडौं–निजगढ दु्रतमार्ग र निजगढ विमानस्थलको निर्माण कार्य नेपाली लगानीमा नै तुरुन्त अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।







