उपत्यकामा मार्निङ वाक थप जोखिमपूर्ण भएको पुष्टी

असोज १५ ।काठमाडौँ,बिहान र बेलुकाको समयमा धुलोको कण अधिक देखिएको हुँदा काठमाडौँ उपत्यकामा बिहान गरिने मर्निङवाक (बिहानको हिँडडुल) जोखिम हुने पुष्टी भएको छ ।

काठमाडौँ उपत्यकाको खस्कँदो वातावरणीय प्रदूषणका बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको छ महिनाको अवधिमा गरेको मापन अनुसन्धानमा सो नतिजा देखिएको हो ।

परिषद्का सदस्य सचिव डा खेमबहादुर कार्कीले अनुसन्धान नतिजाका बारेमा बताउदै भन्नुभयो,”बिहानको हिँडडुल र शारीरिक अभ्यास थप जोखिमपूर्ण बनेको छ, बिहान ६ बजेदेखि ९ बजेसम्म उपत्यकाको वायुमा फोक्सोसम्म सिधै पस्न सक्ने धुलाका कणको मात्रा मापदण्डभन्दा करिब दुईगुणा बढी पाइयो ।”

बाह्य वायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कणहरू सास लिँदा सोझै फोक्सोमा पुग्छन् । नेपालमा २.५ माइक्रोमिटरसम्मको धुलोको कणको मात्रा ४० माइक्रो ग्राम प्रतिघनमिटरसम्मलाई सामान्य मानिन्छ । अध्ययनबाट उपत्यकाको बिहानको हावामा धुलोको कणको मात्रा ८०.५ माइक्रो ग्राम प्रतिघनमिटर भेटिएको सदस्य सचिव डा कार्कीले जानकारी दिनुभयो ।

विसं २०७० को फागुन महिनादेखि विसं २०७१ को साउन महिनासम्म सो अध्ययन गरिएको थियो । अध्ययनमा बाह्य वायुमा पाइने २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण बिहान ५ बजेदेखि लगातार बढ्दै जाने र बिहान ९ बजेसम्म अधिक रहने देखिएको थियो । यसपछि विस्तारै घट्दै गए पनि साँझ ६ बजेदेखि ९ बजेसम्म फेरि बढ्दै जाने क्रम पाइएको थियो ।

प्रायः बिहान र बेलुकीको यही समयमा प्रायः मानिस शारीरिक अभ्यासका लागि घर बाहिर निस्कने गर्दछन् । सदस्य सचिव कार्कीले भन्नुभयो, उपत्यकावासीलाई अध्ययनको नतिजाले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग थप बढ्ने जोखिम बढाएको छ ।

अर्कातिर मुटु, मधुमेह र क्यान्सर रोग रोगथामका लागि अनिवार्यरुपमा शारीरिक अभ्यासको जरुरी पर्दछ । उहाँले अब शारीरिक अभ्यासको लागि उपयुक्त समय र तरिकामा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।
हरेक १५-१५ मिनेटको पिएम २.५ को मात्रा मापन गर्ने गरी काठमाडौँको पुतलीसडक, भक्तपुरको जगाती र भीमसेनस्थान र ललितपुरको महालक्ष्मीस्थानमा लाइट स्क्याटर रियल टाइम एरोसोल मोनिटरिङ्ग प्रविधिमा आधारित ई स्याम्पलर भन्ने यन्त्रको प्रयोग गरिएको थियो ।
सदस्य सचिव डा कार्कीका अनुसार उच्च प्रविधिमा आधारित सो यन्त्रको प्रयोग गरी नेपालमा पहिलो पटक २४ घण्टाको लगातार पिएमलाई मापन गरिएको थियो । यन्त्रले स्वचालित रुपमा मापन गरेको तथ्याङ्कलाई कम्युटरको सफ्टवेयरमको सहायताले विश्लेषण गरिएको थियो ।
डा कार्कीले तीनवटा स्टेसनको छ महिनाको औसत मात्रा ४६ माइक्रोग्राम प्रतिघनमिटर रहेको देखिएको जानकारी दिनुभयो । यसैगरी विद्युत् भार कटौतीको समयमा पनि पिएम २.५ मात्रा ३० देखि ४० प्रतिशतसम्मले वृद्धि भएको देखिएको प्रतिवेदनले जनाएको छ । परिषद्ले अगामी दिनमा वर्षभरिको उपत्यकाको बाह्य वायुको अवस्थाको विस्तृत अध्ययन गर्ने पनि जनाएको छ ।
अध्ययनले छ महिनाको अवधिको मापनअनुसार मासिक औसत फागनु महिनामा सबैभन्दा उच्च अर्थात् ७०.५ माइक्रो ग्राम प्रतिघनमिटर र साउन महिनामा सबैभन्दा कम ९.९ माइक्रोग्राम प्रतिघनमिटर धुलोको कण पाइएको देखाएको छ । मनसुनका कारण साउन महिनामा कम भएको अध्ययनले देखाएको छ ।

सम्बन्धित शिर्षकहरु