आफ्नै श्रीमतीलाई यौन धन्दा गर्न बाध्य पार्ने पतिलाई ११ बर्ष जेल

साउन १३ काठमाडौँ – पैसाका लागि मानिस कति सम्म गिर्न सक्छ भन्ने प्रमाण काठमाडौँमै फेला पर्ने गरेका छन् । हालै भक्तपुरको जिल्ला अदालतमा यस्तै निक्रिस्टताको नमुना पेस गर्ने मुद्दाको छिनोफानो भएको छ । आफ्नै श्रीमतीलाई यौन धन्दा गर्न बाध्य पर्ने एक पतिलाई जिल्ला अदालतले ११ बर्षे कैदको सजाय तोकेको छ ।

सिन्धुपाल्चोक साम्पालकोट-३ घरभई काठमाडौ लैनचौर बस्ने ३५ वर्षीय दीपक पण्डितलाई न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले ५५ हजार रुपैयाँ जरिवानासहित थप ५० प्रतिशत क्षतिपूर्तिको समेत फैसला सुनाएको छ ।

पण्डितले २०५५ मा २७ वर्षीया शर्मिला (नाम परिवर्तन)  सँग मागी विवाह गरेका थिए । उनका एक छोरा र एक छोरी छन् । पण्डितले पत्नीलाई बिभिन्न स्थानमा लगेर शारीरिक तथा मानसिक यातना दिंदै जबरजस्ती यौन धन्दामा संलग्न गराएको अदालतको फैसलामा उल्लेख छ । श्रेस्तेदार खड्गराज अधिकारीका अनुसार विभिन्न व्यक्तिलाई घरमै बोलाएर पत्नीलाई यौन धन्दामा संलग्न गराउने गरेको प्रमाणित भएको छ । पण्डितको परिवार १० वर्षदेखि भक्तपुरको बालकोटमा डेरा गरी बस्दै आएका थिए ।

पीडित सर्मिलाको बयानमा आफू कोठा बाहिर बसेर मधेसी मूलका व्यक्तिहरुसँग पैसा लिएर कोठा भित्र पठाएर जबरजस्ती करणी गराउने गरेको उल्लेख छ ।  ‘इच्छाविपरीत परपुरुषसँग यौनसम्बन्ध राख्न नमानेपछि कुट्ने, चुरोट र मैनबत्तिले शरीरका संवेदनशील अंगमा पटक-पटक पोलिदिने गर्थे’ बयानमा उल्लेख छ ‘हसिँयाले खुटामा काटिदिने जस्ता यातना दिएर यौनसम्बन्ध राख्न बाध्य पार्थे ।’

उनका पतिले ठमेलस्थित बेशी क्याम्प गेष्ट हाउसमा लगेर १० हजार रुपैयाँमा ६ महिनासम्म वेश्याबृत्ति गर्न लगाएको समेत उल्लेख छ । ६ महिनापछि आफैले सर्मिलाको नाममा ठिमी स्थित कृषि विकास बैंकबाट ऋण लिएर ठमेलमै ‘ओम युनिक बडी केयर मसाज सेन्टर’ खोलेर जबरजस्ती वेश्याबृत्ति गर्न लगाई दैनिक २७ सय भन्दा बढी कमाउन बाध्य पारेको अनुसन्धानमा खुलेको छ ।

५ सय देखि हजार रुपैयाँसम्म लिएर बेश्याबृत्ति गर्न लगाई शारीरिक र मानसिक यातना दिने क्रम नरोकिएपछि सर्मिलाले प्रहरीमा उजुरी दिएकी थिईन् । त्यसपछि महानगरीय प्रहरी परिसर भक्तपुरले दीपकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको हो ।

 

सम्बन्धित शिर्षकहरु