असनेपाल न्युज सम्बाददाता/
साउन ५, काठमाडौं । नेपाली इतिहासमै सेयर कारोवारमा आज नयाँ रेकर्ड कायम भएको छ । पूँजी वजारको इतिहासमै पहिलो पटक नेप्सेमा आज एकैदिन १ अर्व २० करोड रुपैयाँ भन्दा वढी कारोवार भएको छ । सेयर वजारमा १ अर्ब भन्दा बढीको कारोवार भएको यो पहिलो पटक हो ।
नेप्सेमा हिजो ९६ करोड ६० लाखको कारोवार भएको थियो । वजारमा लगानीकर्ताको आर्कषण वढ्दै गएपछि नेप्से निरन्तर उकालो लागिरहेको छ । नेप्सेको लगातार वृद्धिले अवको केही दिनमा नै यसअघी २०६५ सालमा कायम ११ सय ७५ अंकको हाराहारी छुने सेयर विश्लेषक बताउँछन् । नेप्से हिजोको तुलनामा आज ८ दशमलव ५६ अंकले वढेर १ हजार ८३ दशमलव ५३ अंकमा पुगेको छ । मौद्रिक नीति सार्वजनिक भएसंगै लगुवित्त कम्पनीको सेयर निरन्तर उकालो लागिरहेको छ । क वर्गका वैंक, विकासवैंक, तथा होटल समूहको सेयर परिसुचक आज वढेको छ भने जलविद्युत विमा लगायत अन्य कम्पनीको सेयर घटेको छ ।
आज कुल १ सय ४८ कम्पनीका ५ हजार ३ सय ४९ कारोवारबाट १ अर्व २० करोड ३१ लाख ५९ हजार ६ सय ९१ रुपैयाँ वरावरका २१ लख ७१ हजार ५ सय ८२ कित्ता सेयर खरिद विक्री भएको नेप्सेको वेबसाइटले जनाएको छ ।








