माघ १६ । काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि वार्तामा आउन सम्बद्ध सबै पक्षलाई आह्वान गरेका छन् ।
सहिद दिवसका अवसरमा शनिबार दिएको सन्देशमा प्रधानमन्त्री ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतलाई लक्ष्य गर्दै संविधान जारी हुनुअघिदेखि नै मुलुकमा सिर्जना गरिएका समस्या क्रमशः सम्बोधन हुँदै आएको र यही माघ ९ गते संविधानमा भएको पहिलो संशोधनबाट राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रक्रिया आरम्भ भएको उल्लेख गरेका छन् ।
“यसबाट संविधानसम्बन्धी सबैको चासो क्रमशः सम्बोधन हुँदै जाने विश्वास म यस अवसरमा दिलाउन चाहन्छु, हामीबीच कुनै असहमति र गुनासा छन् भने वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि म सम्बद्ध सबै पक्षलाई वार्ता र संवादमा आउन आह्वान गर्दछु”– प्रधानमन्त्रीले भनेका छन् ।
उनले प्रजातन्त्रको स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने सहिद गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै एकतन्त्रीय जहानियाँ शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाई प्रजातन्त्रको स्थापनाका लागि अमर सहिदले आफ्नो प्राणको आहुति दिएको स्मरण गरेक छन्
यस्तै सहिदले देखाएको बाटामा अघि बढ्ने प्रण गर्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले बलिदानको उच्च सम्मान र भावनाको कदर गर्दै उनीहरुको सपनालाई साकार पार्दै अघि बढ्न सरकार प्रयत्नशील रहँदै आएको जनाएका छन्।
लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, राष्ट्रिय एकता तथा अखण्डताको पक्षमा सरकार सधैँ दृढ रहने विश्वास पनि उनले व्यक्त गरेको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाए ।









