पुस ८ । काठमाडौं, सिन्धुपाल्चोकका भूकम्पपीडित ठन्डीले जस्ताको अस्थायी टहरोभित्र गुडुल्किरहँदा उनीहरुका लागि न्यानो लत्ताकपडा किन्न सरकारले पठाएको १० हजार रुपैयाँ अनुदान वितरण तीव्र हुन सकेको छैन ।
बल्लबल्ल वितरण थालिए पनि गाविसमा पूरा रकम नजाँदा गाउँगाउँमा भाँडभैलो मच्चिएको छ ।
भूकम्पबाट सर्वाधिक जनधन क्षति बेहोरेका सिन्धुपाल्चोकका पीडितका लागि न्यानो लुगा किन्न सरकारले मंसिर २५ गते ७० करोड रुपैयाँ अनुदान निकासा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले तत्कालै सम्बन्धित गाविसको बैंक खातामा रकम पठाए पनि सचिवले वितरणमा तदारुकता देखाएनन् । अपूरो निकासा र अख्तियारको प्रेस विज्ञप्तिले उनीहरु हच्किए ।
सर्वपक्षीय सहमति जुटाएर जिल्ला दैवीप्रकोप उद्धार समितिले साताभित्र बाँडिसक्न निर्देशन दिएपछि सचिवहरुले बिहीबारबाट मात्र वितरण थाले । स्थानीय प्रशासनले दुई नगरपालिका र ५८ गाविसमा एकसाथ निकासा पठाए पनि १२ गाविसमा मात्र वितरण भइरहेको छ ।
कदमवास र भोटसिपा गाविसले खातामा जम्मा भएको अनुदान मंगलबार वितरण सके पनि अपूरो रकमका कारण सबैले पाउन सकेनन् ।
ुबाँड्दै जाँदा २५ जनालाई रकम पुगेन । कसले पहिला रकम पाउने भन्ने हानथाप मच्चियो,ु कदमवास सचिव चूडामणि पराजुलीले भने । दुइटा गाविस हेर्दै आएका उनले अपुरो निकासाकै कारण इर्खुमा वितरण थाल्न सकेका छैनन् ।
ुरकम कहिले आउँछ भनेर पीडित गाउँले घेर्छन् । जवाफ दिन सकिएको छैन,ु उनले गुनासो गरे ।
भूकम्प पीडित परिचयपत्र पाउने घरधुरी संख्याका आधारमा ८० हजार ३ सय ११ परिवारले न्यानोका लत्ताकपडा अनुदान पाउँछन् । यसमा मात्रै ८० करोड ३१ लाख १० हजार रुपैयाँ खर्च हुन्छ । सरकारले पठाएको रकममा अझै १० करोड ३१ लाख १० हजार रुपैयाँ अपुग छ । गाविसमा पनि अपूरो रकम गएपछि वितरणमा विवाद भएको छ ।
अख्तियारले वास्तविक घरधुरी संख्याभन्दा अस्थायी आवास अनुदान १५ हजार रुपैयाँ लिने बढी देखिएको भन्दै छानबिन गर्न भूकम्प प्रभावित जिल्लाका लागि विज्ञप्ति जारी गरेको थियो । सचिवहरुले गाउँमा काम गर्ने वातावरण नहुने भन्दै वितरण थाल्न मानेनन् । छानबिन नगरेका नाममा अख्तियारले फसाउने हो कि भन्ने डर उनीहरुमा थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले सर्वदलीय बैठक डाकेर अख्तियारको विज्ञप्तिको आशय पारदर्शिता भएको भन्दै आश्वस्त पारेपछि मात्र उनीहरु वितरण थाल्न राजी भए ।
अपूरो रकम निकासा भएकाले पीडित सचिवमाथि जाइलाग्ने सम्भावित डरले वितरणमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मी लगाएर धमाधम रकम गाउँ लगिँदैछ । प्रमुख जिल्ला अधिकारी गोकर्ण दुवाडीका अनुसार यसअघि भूकम्प पीडित परिचयपत्र पाएकाले न्यानो लुगा अनुदान पाउँछन् । सम्बन्धित गाविसबाट वितरण व्यवस्था मिलाइएको छ । ुवितरण तीव्र हुन सकेको छैन,ु पीडितले रकम पाउन ढिलाइ भएको स्विकार्दै उनले नागरिकसँग भने ।
प्रजिअ दुवाडीका अनुसार अपूरो रकम निकासा, गाविस सचिव कम हुनु, सुरक्षा व्यवस्था मिलाउनुपर्ने लगायत कारण वितरण तीव्र हुन नसकेको हो ।
जिल्लाका ६८ मध्ये ५५ गाविसमा मात्र सचिव छन् । एउटै सचिवले तीन गाविससम्म हेर्दै आएका छन् । नगरपाललिकाका वडामा भने सहायकलाई सचिवको जिम्मेवारी दिइएको छ ।
ुतीन गाविस हेर्ने सचिवले एउटामा वितरण थाल्दा बाँकीमा त्यसै ढिलो हुने भयो,ु गाविस सचिव हकहित केन्द्रका अध्यक्ष दुर्गाप्रसाद ढुंगेलले भने ।
यसअघि १५ हजार अनुदान बाँड्दा काजमा कर्मचारी ल्याएर सबै गाविसमा सचिव पूर्ति गरिएको थियो । अपूरो निकासाका कारण रकम गाउँमा गए पनि अधिकांश गाविसले वितरण थालेका छैनन् । सदरमुकाम चौतारा, बाह्रबिसे, मेलम्चीलगायत बजार क्षेत्रमै वितरण हुन सकेको छैन । कसलाई पहिला दिने भन्ने विवादले समस्या निम्तने कारण देखाउँदै सचिवहरु वितरण थाल्न हच्किएका हुन् ।
कतिपय गाविसमा गाउँका अगुवालाई रकम पछि लिन अनुरोध गर्दै सहमतिमा वितरण थालिएकोे सचिवहरु बताउँछन् । सचिव हकहित केन्द्रका अध्यक्ष ढुंगेल वितरण थालिए पनि रकम अपुग हुँदा वास्तविक पीडित न्यानो लुगा अनुदान पाउन वञ्चित भएको स्विकार्छन् ।
ुबाहुबल परिचयपत्रकै आधारमा यसपटक पनि सुविधा लिन अगाडि छन् । पीडित भने पछिको पछि,ु उनले भने ।
गृह मन्त्रालयले अनुदान पठाउँदा बाँडेगाउँ, शिखरपुर, नवलपुर, कुन्चोक, लिस्ती, फुल्पिङकट्टी, गाती, पिस्कर, इर्खु र सिपापोखरी गरी १० गाविसमा दुई विदेशी संस्थाले १० हजार रुपैयाँकै दरले न्यानो लुगा अनुदान बाँड्ने तयारी भएको थियो । दोहोरो पर्न नदिन स्थानीय प्रशासनले सबै रकम बाँकी गाविस र नगरपालिकामा निकासा पठाएको थियो ।
पाँच गाविसमा वितरण सुरु गरेपछि सरकारले संघसंस्थालाई वितरणमा रोक लगाएको थियो । इर्खु, सिपापोखरे, बाँडेगाउँ, नवलपुर र कुन्चोकमा अझै अनुदान निकासा गएको छैन । प्रजिअ दुवाडी नपुग रकम निकासाका लागि गृहमा ताकेता गरिरहेको बताउँछन् ।
अहिलेको वितरणलाई नसुधारे पीडितले जाडोयाम सकिँदा पनि अनुदान पाउन मुश्किल देखिन्छ । ुमध्यजाडोमै वितरण सक्ने प्रयासमै छौं,ु दुवाडी बताउँछन् ।
तीन अर्बभन्दा बढी खर्च
पछिल्लो जनगणनाअनुसार जिल्लाको घरधुरी संख्या ६६ हजार ६ सय ४८ मात्र हो । जनगणनालाई आधार मान्दा झन्डै १४ हजारभन्दा बढीले परिचयपत्र र अनुदान लिएको पाइन्छ । गैरपीडितले लिएको अनुदान फर्काउन छानबिन भइरहेको उद्धार समितिले जनाएको छ । कारबाही डरले ३८ पीडितले अनुदान फिर्ता गरेका छन् । गैरपीडितले सेवा, सुविधा लिएको भन्दै स्थानीय प्रशासनमा झण्डै ३ सय उजुरी परेका छन् ।
अनुदान पाउन छुटेको भन्दै सम्बन्धित गाविस मार्फत २ हजार १ सय ५५ निवेदन स्थानीय प्रशासनमा संकलन भएको छ । त्यसैका आधारमा उद्धार समितिले रकम निकासाका लागि मन्त्रालयलाई पत्राचार गरेको छ । निवेदनका आधारमा रकम निकासा भए घरधुरी संख्या अझै बढ्नेछ । वास्तविक घरधुरीभन्दा १८ हजार बढीले सुविधा पाउने देखिन्छ ।
भूकम्पपछि सरकारले राहत, क्षतिपूर्ति र किरिया खर्चका लागि सिन्धुपाल्चोकमा हालसम्म २ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ निकासा पठाइसकेको छ । लत्ताकपडा अनुदान निकासासमेत जिल्लामा ३ अर्ब ५ करोड ७१ लाख रुपैयाँ प्राप्त भई अधिकांश खर्च भइसकेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रशासनको तथ्यांकअनुसार शुक्रबारसम्म मृतकका २ हजार ७ सय १ परिवारले १ लाखका दरले २७ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति रकम पाएका छन् । मृतकका नजिकको हकवालाका नाममा बैंक खातामार्फत क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । त्यस्तै, ३ हजार ५ सय ९ मृतकका परिवारलाई ४० हजारका दरले १४ करोड ३ लाख ६० हजार रुपैयाँ किरिया खर्च वितरण भएको छ । अस्थायी आवास अनुदानमा मात्रै १ अर्ब २० करोड ४६ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ । भूकम्पमा परी सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ६२ जनाले ज्यान गुमाएका थिए । यो महिनामा भूकम्पमा घाइते भई उपचाररत थप ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये १ हजार ५६ पुरुष, १ हजार ५ सय ५५ महिला, ४ सय ४३ बालक र ५ सय १२ बालिका छन् । भूकम्पबाट घटनास्थलमा ९तत्कालै० करिब ३ हजार ३ सय को ज्यान गएको थियो । साढे २ सयभन्दा बढी घाइतेको उपचारक्रममै मृत्यु भएको हो । नागरिक दैनिकबाट








