मंसिर ११ । काठमाडौं, साढे तीन महिनादेखि तराईमा जारी आन्दोलन दुई धारमा छुट्टिएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । केही सातायता वार्ता बिथोल्ने र हिंसा मच्चाउने समूह सक्रिय भएको भन्दै गृहले नयाँ सुरक्षा कार्ययोजना बनाउन लागेको छ ।
केही मधेसी नेता राजनीतिक रूपमै समाधान गर्ने पक्षमा भए पनि पछिल्लो समय सशस्त्र संघर्ष गर्ने तयारीमा एक समूह सक्रिय रहेको सुरक्षा निकायहरूको विश्लेषणमा उल्लेख छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर वार्ताबाटै समाधान खोज्ने पक्षमा छन् । तर, राजेन्द्र महतो, जेपी यादवलगायतका समूह सीमांकन हेरफेर गरे पनि नयाँ माग राखेर तराईमा आन्दोलनलाई थप चर्काउने तयारीमा छन् ।
सिके राउत र तराईका सशस्त्र समूहसँग समेत सहकार्य गरेर उनीहरूले आन्दोलनलाई हिंसात्मक बनाइरहेको गृहले प्राप्त गरेको सूचनामा उल्लेख छ । राजमार्गलाई कब्जा गरेर यातायात ठप्प बनाउन लागेपछि गृहले राजमार्ग खुलाउन विशेष सुरक्षा योजना लागू गरिसकेको छ । त्यसका लागि राजमार्गमा आवश्यकताअनुसार जनशक्तिसमेत थपिने गृह मन्त्रालयका प्रवक्ता सहसचिव लक्ष्मीप्रसाद ढकालले बताए ।
सिरहा, सप्तरीमा आन्दोलनकारीले घरेलु हतियार प्रयोग गर्न थालेपछि प्रहरी एग्रेसिभ रूपमा अघि बढेको छ । केही दिनअघि मोर्चाले स्कुल खोल्ने तथा एम्बुलेन्सलाई अवरोध नगर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेन । स्कुल अझै खुल्न सकेका छैनन् भने दुईपटक एम्बुलेन्समाथि आक्रमण भइसकेको छ ।
मधेसी जनतामाथि राज्यबाट व्यापक दमन भएको प्रचार गरेर सिके राउत यतिवेला जनजागरण अभियानमा सक्रिय भएको राष्ट्रिय अनुसन्धान विभागले गृहमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । सप्तरीमा भइरहेको आन्दोलनमा व्यापक मात्रामा घरेलु हतियार प्रयोग हुन थालेको छ । जसमा मोर्चाभन्दा पनि राउत तथा जेपी गुप्तालगायतको सक्रियता बढी रहेको छ ।
सो समूहले भारतबाट साना हतियार जम्मा गर्न थालेको गुप्तचर निकायले जनाएको छ । प्रहरीले पनि सो क्षेत्रको आन्दोलन नेताहरूको नियन्त्रणबाट बाहिर जान थालेको जनाएको छ । पैसासमेत बाँडेर सो क्षेत्रमा आन्दोलन चर्काउन लागिएको रिपोर्टमा उल्लेख छ ।
गृहमन्त्री शक्ति बस्नेतले बुधबार व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको बैठकमा तराईमा एक समूह जसरी पनि वार्ता बिथोल्न सक्रिय रहेको बताए । ‘तराईमा संविधान संशोधन गर्ने होइन, संविधान नै नमान्ने, राज्य नै नमान्ने समूह सक्रिय छ,’ उनले भने, ‘सो समूह वार्ता भाँड्न सक्रिय भएको छ ।’
वार्ता सहमतिनजिक पुगेका वेला सोही समूहले वीरगन्ज र सप्तरीमा वार्तालाई सफल हुन नदिन हिंसा मच्चाएको मन्त्री बस्नेतले बताए । तराईको आन्दोलनमा वार्ताविरोधी शक्तिको चलखेल बढ्दै गएको आरोप उनले लगाएका छन् ।
दशगजादेखि राजमार्गसम्म राज्यको नियन्त्रण गुम्दै
सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लाका दक्षिणी राजमार्ग क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदै गएको छ । दशगजादेखि महेन्द्र राजमार्गबीचको क्षेत्र लगभग आन्दोलनकारीको कब्जामा छ । त्यस क्षेत्रका दर्जनौँ प्रहरी बिट विस्थापित भइसकेका छन् ।
अस्पताललगायत केही सरकारी कार्यालयमा समेत आन्दोलनकारीले कब्जा जमाइसकेको गृह मन्त्रालय स्रोत बताउँछ । राजमार्ग ठप्प पार्ने, प्रहरी चौकी भगाउने र आफ्नै नियन्त्रण कायम गर्ने योजनामा उनीहरू रहेको गुप्तचरको रिपोर्टमा उल्लेख छ । यस्तो अवस्थामा गृहले नयाँ सुरक्षा रणनीति बनाउन लागेको हो ।
राज्य व्यवस्था समितिमा गृहमन्त्री बस्नेतले वास्तविक अवस्था बुझेर त्यहीअनुसार नयाँ सुरक्षा योजना बनाइने जानकारी दिएका छन् । राजमार्ग र सीमा क्षेत्रलाई लक्षित गरी गृहले नयाँ सुरक्षा योजना बनाउन लागेको हो । सुरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष दस्ता बनाएर राजमार्ग खुलाउने र त्यति गर्दा पनि सफल नभए स्थानीय प्रशासन ऐनअन्तर्गत रहने गरी सेनालाई समेत खटाउनेबारे छलफल भएको छ ।
तीन महिनादेखि गृहले एकीकृत सुरक्षा योजना बनाई सबै सुरक्षा निकायलाई एकीकृत रूपमा खटाएको छ । करिब एक महिना सिडिओको नेतृत्वमा सेनालाई समेत खटाइएको थियो । तर, स्थिति केही सामान्य भएपछि सेना ब्यारेक फर्किएको थियो । तर, सिरहा, सप्तरी क्षेत्रमा हिंसात्मक आन्दोलन बढेपछि फेरि सेना परिचालनबारे सरकारले गृहकार्य थालेको छ । नयाँ पत्रिका ।








