यसरी पल्टियो रसुवामा बस

ramcheकात्तिक १८ । रसुवा, काठमाडौंबाट रसुवाको चिलिमेका लागि हिँडेको यात्रुवाहक बस पासाङल्हामु सडकको राम्चे गाविसमा दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ४५ जना घाइते भएका छन्,नयाँ पत्रिका लेख्छ ।

मंगलबार राम्चे–३ स्थित ग्राङमा ना.२ख ५७०६ नम्बरको बस सडकदेखि करिब दुई सय मिटर तल खस्दा बसमा सवार २९ जनाको घटनास्थल, एकजना उपचारका लागि धुन्चे लैजाने क्रममा, पाँचजनाको त्रिशूली अस्पतालमा र तीनजनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये धुन्चे गाविसका सचिव टिकमबहादुर शाही, गोल्जुङ–५ का तीन वर्षीय निमा तामाङ, सुआहरा कार्यक्रमकी कर्मचारी दीपा चिमोरिया, बसचालक नुवाकोट मनकामना गाविसका २६ वर्षीय भरत गुरुङको मात्र सनाखत भएको छ । अन्यको परिचय खुल्न सकेको छैन । मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रसुवामा राखिएको छ ।

दुर्घटनामा गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट राजधानी काठमाडौं लगिएको छ । उपचारका लागि नुवाकोट ल्याइएका ३६ जना घाइतेमध्ये पाँचजनाको मृत्यु भएको थियो भने बाँकी पाँचजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते १६ जनालाई सेनाको हेलिकोप्टरबाट र १० जनालाई एम्बुलेन्सबाट राजधानी काठमाडौंमा उपचारका लागि पठाइएको नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए । काठमाडौंमा उपचार भइरहेका मध्ये एकजनाको मृत्यु भएको रसुवाका डिएसपी अवदेश विष्टले बताए । अन्य घाइतेको जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको छ ।

बढी भारले दुर्घटनाको अनुमान
ghaitaबसमा ८० जनाभन्दा बढी यात्रु रहेको प्रहरी अनुमान छ । क्षमताभन्दा धेरै यात्रु र छतमा टन्नै सामानसमेत बोकेकाले दुर्घटनाको कारण क्षमताभन्दा बढी भार भएको हुन सक्ने प्रहरीको भनाइ छ । पहिरो गएको स्थान भए पनि सडक अप्ठ्यारो र मोडसमेत नभएकाले दुर्घटनाको कारण यही हो भन्न सक्ने अवस्था नभए पनि क्षमताभन्दा बढी भार नै हुन सक्ने प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए ।

दिउँसो साढे १२ बजे बस दुर्घटना भएको हो । पहिरो गएर भिरालो पाखोमा रहेको ढुंगामा बल्ड्याङ खाँदै दुई सय मिटर तल पुगेको बस भग्नावशेषमा परिणत भएको छ । आकार नै नासिने गरी बस क्षतविक्षत भएको छ । ‘बस सडकको छेउछेउबाट गइरहेको थियो, अगाडिको चक्का एक्कासि भासिएकाले दुर्घटना भयो,’ एक घाइतेले भने । ग्राङको सडक जीर्ण र साँघुरो छ ।

दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नुवाकोटबाट गएको प्रहरी टोलीको साथमा स्थानीयले घाइतेको उद्धार गरेका थिए । अप्ठ्यारो भीरमा दुर्घटना भएकाले घाइते र मृतकको उद्धारका लागि पाँच घन्टाभन्दा बढी समय लागेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । उनका अनुसार मृतकका आफन्तलाई शव पोस्टमार्टम गरी जिम्मा लगाउने तयारी भइरहेको छ । पासाङल्हामु सडक सञ्चालन भएको ५० वर्षको इतिहासमा यो नै सबैभन्दा ठूलो सडक दुर्घटना हो । गत वर्ष कात्तिक ७ गते काठमाडौंबाट रसुवा जाँदै गरेको यात्रुवाहक बस नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा तीन विदेशीसहित १४ को ज्यान गएको थियो ।

सम्बन्धित शिर्षकहरु