भदौ ५ । काठमाडौँ, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मधेसी मोर्चाले आन्दोलनमा आउन आहवान गर्दै त्यस क्रममा मृत्यु हुनेका परिवारलाई ५० लाख रुपैयाँ दिने भनी गरेको निर्णय हिंसात्मक गतिविधिमा संलग्न आतंककारी समूहको घोषणाजस्तो भएको दाबी गरेका छन् ।
‘हिंसात्मक गतिविधिमा संलग्न समूहको जस्तो घोषणा संविधानसभामा रहेका दलबाट हुनु दुःखद हो,’ संसदको शुक्रबारको बैठकमा गौतमले भने । उनले मधेसी मोर्चाको उक्त निर्णय स्थापित अन्तर्राष्ट्रिय कानुनी मान्यता र मानवताविपरीत भएको टिप्पणीसमेत गरे ।
‘तराईका केही जिल्लामा जातीय र सामाजिक सद्भाव भडकाउने काम भइरहेको छ । आफ्नो अधिकारका लागि लडदा अरूको अधिकारको ख्याल गर्नुपर्नेमा त्यो हुन सकेको छैन । सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मी तथा व्यक्तिमाथि आक्रमण भइरहेको छ । यस्तो स्थिति अन्त्यका लागि संसदको पनि सहयोगी भूमिका निर्वाहको अपेक्षा गरेको छु,’ उनले भने । कान्तिपुर दैनिकमा समाचार छ ।








