प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

surkhetसुर्खेत, अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । आन्दोलनमा अन्य दर्ज बढी घाइते भएका छन् ।
मध्यपश्चिम टुक्र्याउन नहुने माग गर्दै आहृवान गरिएको बन्द हिंसात्मक भएपछि सुर्खेत तनावग्रस्त बनेको हो । आन्दोलनकारीहरुले राजनीतिक दल, नेता र सरकारी कार्यालयमा तोडफोड तथा अगजनी गर्न थालेपछि तनाव सुरु भएको थियो ।

स्थानीय प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यू लगाएपछि झडपका घटना रोकिएको छैन । हातमा लाठी लिएका तोडफोडमा उत्रिएका प्रदर्शनकारीहरुले कांग्रेस र एमाओवादीको पार्टी कार्यालयका साथै कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको गोठमा आगजनी गरेका छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय र एमाले कार्यालयमा पनि तोडफोड गरेका छन् । शान्तिपूर्ण आन्दोलन एकाएक अनियन्त्रित र हिंसात्मक भएपछि घुसपेठ भएको स्थानीय प्रशासन र दलहरुको निष्कर्ष छ ।

प्रदर्शन हिंसात्मक भएपछि धमला चोकमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका टिकाराम गौतमको मृत्यु भएको छ । उनको घाँटीमा गोली लागेको थियो ।

अन्य दुई मृतकको सनाखत हुन सकेको छैन । मृतकहरुको शव जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका धादिङका रामबहादुर श्रेष्ठ, दैलेखका नरबहादुर पुरी र वीरेन्द्रनगरका अनिस पन्तलाई विमानबाट काठमाडौं ल्याइएको छ । श्रेष्ठ र पुरीको केएमसी अस्पतालमा र पन्तको शिक्षण अस्पताला उपचार भइरहेको छ ।

प्रहरीको गोली लागेर पत्रकार आईसीं रोकाय लगायतका घाइते भएका छन् । समाचार संकलन गर्न गएका रोकायको खुट्टामा गोली लागेको छ । उनी बुलबुले एफएममा कार्यरत छन् । रोकाय लगायतका घाइतेहरुलाई नेपालगन्जमा रिफर गरिएको महासंघ अध्यक्ष भारतीले बताए ।

सम्बन्धित शिर्षकहरु