साउन २५ । रूकुम,अखण्ड रूकुमको माग गर्दै रूकुमका नागरिकले अनिश्चित कालिन रूकुम बन्दको आयोजना गरेका छन् । रूकुमेलीहरूको भावनालाई कुल्चेर अन्यायपूर्ण तरिकाले जिल्ला विभाजन गरिएको भन्दै रूकुम बन्द गरिएको हो । रूकुमको पश्चिम उत्तरी भागलाई प्रदेश ६ मा र अन्य भागलाई प्रदेश ५ मा गाभेर ठुलो अन्याय भएको भन्दै चर्को नाराबाजी गर्दै प्रर्दशन समेत गरिएको छ ।
रूकुम सदरमुकाम लगाएतका सबै बजारहरू पुर्ण रूपमा बन्द रहेका छन् भने शैक्षिक संस्था र यातायात पुर्ण रूपमा बन्द गरिएको छ ।
नागरिक समाज रूकुमको अगुवाईमा रूकुममा बिरोध र्याली गरिएको छ । बिरोध र्यालीलाई रूकुमका सबै राजनितिक दलका प्रमुखहरूले सम्बोधन गरेका छन् । रूकुमका राजनितिक दलका प्रमुखहरूले नागरिकको आन्दोलनमा एक्यबद्धता जनाएका छन् ।
यसैगरी रूकुम क्षेत्र नं २ बाट प्रत्यक्ष निबार्चित सभाषद एवं माओबादी नेता जर्नादन शर्मा, समानुपातिक सभाषद मिठु मल्लको घर र रूकुमका सबै राजनितिक दलका पार्टी कार्यालयमा आन्दोलनकारीले घेराउ गरेका छन् । घेराउका क्रममा सभाषद जनार्दन शर्माको घरमा आन्दोलनकारीले सामान्य ढुंगामुडा समेत प्रहार गरेका थिए । रूकुमका गाँउ गाँउबाट जम्मा भएका नागरिकहरूमा उत्साहका साथ सहभागी भएका छन् ।








