साउन १५। काठमाडौँ, बाढीले पुल बगाएपछि खोटाङका दर्जनभन्दा बढी गाविसका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
गत असार १९ गते राति परेको भारी वर्षापछि आएको बाढीले मेवा र साप्सु खोलामा हालिएको झोलुङ्गे तथा काठे पुल बगाएपछि आसपासका दर्जनभन्दा बढी गाविसमा बसोबास गर्नेलाई आवतजावतमा समस्या भएको हो ।
रातको समयमा आएको बाढीले रतन्छा–४ र दोर्पाचिउरीडाँडा–५ जोड्ने लामीदुवाली, मात्तिम र टेम्मा जोड्ने बर्मी, मात्तिम र छितापोखरी जोड्ने सिरुवा झोलुङ्गे पुल, खिदिमा–७ र छितापोखरी–९ तथा खिदिमा–३ र ८ जोड्ने स्टिलट्रसका साथै दर्जनौँ ठाउँमा हालिएको काठे पुल बगाएपछि आवतजावतमा समस्या भएको मात्तिमका भुवनकुमार आचार्यले बताए ।
उनले भने, “बाढीले पुल बगाएपछि सबैभन्दा बढी विद्यार्थीलाई समस्या भएको छ, खोला तरेर जानुपर्ने विद्यालयका कतिपय विद्यार्थीलाई त विद्यालय पठाउन पनि छाडिएको छ ।” बाढीले सबै प्रकारका पुल बगाएपछि यस क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम दिक्तेललगायत अन्यत्र आवतजावत गर्न समस्या भएको खिदिमाका हङ्सराज राईले बताए।
बाढीले झोलुङ्गे तथा काठे पुल बगाउनुका साथै खोलामा ठूलो भौडी पारेकाले वारपार गर्न सक्ने अवस्था नहरेको स्थानीयवासीले बताएका छन् । कतिपय ठाउँमा एक÷डेढ घन्टा घुमेर भौडी पार गर्नुपर्ने अवस्था रहेको रतन्छाका नवीन राईले बताए।
उनले भने, “माथिबाट ढुङ्गा झरिरहेको हुन्छ, एक÷डेढ घन्टा घुमेर पार गर्नुपर्ने ठाउँमा एकदमै जोखिम मोल्नुपर्ने अवस्था छ ।” सोही रात मेवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका मात्तिम–५ की ४० वर्षीया परिमायाँ राई र उनकी छोरी १२ वर्षीया समिता राई अहिलेसम्म फेला परेको छैन । खोलाको किनारमा रहेको नाम्खा दोभानस्थित खेतमा रोपाइँ गर्न अस्थायी कटेरामा बसेका आमाछोरीलाई खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको हो ।
बाढीले त्यस क्षेत्रमा बसोबास गर्ने दर्जनौँ परिवार विस्थापित भएका छन् भने खेतीयोग्य जमिन, पाक्न लागेका धान, चारवटा लघु जलविद्युत्, दर्जनौँ गाईगोरु र तीन दर्जनभन्दा बढी बाख्राखसी बगाएको छ । बाढीले ठूलो मात्रामा क्षति पु¥याए पनि विस्थापित परिवारबाहेक आफूहरुले राहत नपाएको स्थानीयवासीले गुनासो गरेका छन् ।








