असार २९ । काठमाडौँ, निजामति प्रशासनको सबैभन्दा उच्च पद मुख्य सचिवमा पुग्न सचिवहरुको दौडधुप सुरु भएको छ । स्थायी सरकारका रुपमा लिइने निजामति सेवाको प्रमुख पदमा पुग्न यतिबेला छ जना सचिव चर्को दौडधुपमा छन् ।
बरिष्ठता र कार्यकुशलताका अतिरिक्त राजनीतिक मेसो मिलेको अवस्थामा मात्र यो पद पाउन सकिने भएकाले उहाँहरुबीच यस्तो प्रतिस्पर्धा चलेको हो । मुख्य सचिवको पद विशुद्ध प्रशासनिक भए पनि यसको नियुक्तिमा राजनीतिक चलखेल बढी हुने गरेकाले बरिष्ठता र कार्यकुशलता हुँदाहुँदै पनि कहिलेकाहीं कनिष्ठले अवसर पाउने गरेको स्वयम् मूख्य सचिवका दाबेदारहरु स्वीकार्छन् ।
सरकारका मूख्य सचिव लिलामणि पौडेलको सेवा अवधि आगामी साउन २२ मा सकिंदैछ । सामान्यताया सेवा अवधि सकिनुभन्दा एक महिनाअघि विदामा बस्ने चलन भएपनि हालका मुख्य सचिव पौडेल सरकारकै आग्रहमा बिदा नबसेको बताइन्छ ।
बहालवाला मुख्य सचिव बिदामा बसेपछि सरकारले बरिष्ठता र कार्यकुशलताका आधारमा बरिष्ठ सचिवमध्ये १ जनालाई कायममुकायम नियुक्त गर्ने र बहालवाला पदमुक्त भएपछि कायममुकायम पाउनेलाई नै मुख्य सचिव बनाउने प्रचलन भएकाले सचिवहरु दौडधुपमा लागेको स्रोतको भनाइ छ ।
मुख्य सचिव बन्ने दौडमा अहिले सहकारी मन्त्रालयका सचिव श्रीधर गौतम, संघीय मामिला तथा स्थानीय विकास मन्त्तालयका सचिव सोमलाल सुवेदी, उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाल, सिंचाई मन्त्रालयका सचिव माधव रेग्मी, शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित र पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ छन् ।








