नुवाकोट, २४ असार । नुवाकोटबाट काठमाडौं तर्फ गइरहेको यात्रुबाहक बस माथि ककनीमा पहिरो खसेको छ । बसको दायाँतर्फको भागमा ठूलो ढुंगाले थिचिरहेको छ । अहिले प्रहरी र स्थानीयबासीको सहयोगमा बसबाट यात्रुहरू निकाल्ने प्रयास भइरहेको छ । बसबाट करिव एक दर्जन यात्रुहरू बाहिर निकालिएको भएपनि चालक सहित तीन यात्रु हराइरहेको प्रहरीले जानकारी गराएको छ । उनीहरूको मृत्यु भएको आशंका गरिएको भएपनि पुष्टि भने हुन सकेको छैन ।
साँघुरो बाटोमा माथिबाट पहिरो खसेको हो । यस भन्दा अघिपनि सो स्थानमा पहिरो खसेको थियो । पहिरोमा पुरिएको बसमा कति यात्रु थिए र तिनीहरू सवैको अवस्थाका बारेमा भने पूर्ण जानकारी आइसकेको छैन । त्रिशुलीबाट काठमाडौं जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बसमाथि विहीबार दिउँसो ककनी गाउँ विकास समिति वडा नम्बर–१ सिस्नेरीमा माथिबाट खसेको पहिरोमा पुरिएको हो ।








