अमेरिका।
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) का संस्थापक योगी आचार्य राजन शर्मा सद्गुरुदेवको उपस्थितिमा अमेरिकाका विभिन्न शहरहरूमा आत्मज्ञान, योग, ध्यान तथा जीवन रूपान्तरणसम्बन्धी विशेष कार्यक्रमहरू आयोजना हुने भएका छन्।
विश्वशान्ति, आत्मज्ञान, सुखकला, आयुर्वेद, रेकी दीक्षा, हो’ओपोनोपोनो प्रशिक्षण, योगिक डिटक्स तथा आध्यात्मिक जागरणका विषयमा केन्द्रित यी कार्यक्रमहरू विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) का स्थानीय च्याप्टरहरू तथा स्थानीय साधक–साधिकाहरूको आयोजनामा सञ्चालन हुन लागेको जनाइएको छ।
कार्यक्रमअन्तर्गत मे २१, बिहीबार साँझ ७:०० देखि ९:०० बजेसम्म क्यालिफोर्नियास्थित श्री पशुपति तथा बुद्ध मन्दिर, 10843 Kenney St, Norwalk, CA 90650 मा विशेष योग तथा आध्यात्मिक प्रेरणा कार्यक्रम आयोजना हुनेछ।
त्यसैगरी कोलोराडोमा आयोजित INLS International Conference मा 10393 Reed St, Westminster, CO 80021 मा बिहान १०:३० बजेदेखि योग, ध्यान, चेतना विज्ञान तथा मानव मूल्यसम्बन्धी विशेष सत्र सञ्चालन गरिनेछ।
न्युयोर्कमा मे २५, सोमबार बिहान ९:०० देखि १२:०० बजेसम्म Ridgewood Durga Temple मा तथा सोही दिन साँझ ४:०० देखि ६:०० बजेसम्म Divya Dham Temple मा आध्यात्मिक जागरण, ध्यान तथा आत्मबोध कार्यक्रम आयोजना हुनेछ।
यसैगरी मे २९ देखि ३१ सम्म कोलम्बसस्थित Om Divya Dham मा बहुदिवसीय योग, ध्यान, रेकी तथा आत्मज्ञान शिविर सञ्चालन हुनेछ।
GSPSS की अमेरिका संयोजक साध्वी गंगा आचार्यका अनुसार यी कार्यक्रमहरूमा नेपाललाई “विश्व योग गुरु राष्ट्र” का रूपमा स्थापित गर्ने अभियान, हिमालयको प्राचीन योग परम्परा, निःशुल्क ज्ञान आन्दोलन, आत्मविकास तथा विश्वशान्तिका विषयमा विशेष प्रशिक्षण र अन्तरक्रिया गरिनेछ।
उहाँका अनुसार अमेरिकाका सम्पूर्ण कार्यक्रम सम्पन्न भएपछि योगी आचार्य राजन शर्मा सद्गुरुदेव तथा विभिन्न देशका योगी, साधक–साधिकाहरू पवित्र कैलाश–मानसरोवर क्षेत्रमा विशेष ध्यान साधना, तपस्या तथा आध्यात्मिक अनुसन्धानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। साथै यस वर्षको विश्व योग सम्मेलन समेत कैलाश–मानसरोवर क्षेत्रमा आयोजना गर्ने तयारी भइरहेको छ, जसमा विश्वभरका योगगुरु, साधक, अनुसन्धानकर्ता तथा आध्यात्मिक चिन्तकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
“ज्ञान सबैका लागि निःशुल्क हो, शान्ति सबैको अधिकार हो” भन्ने मूल सन्देशका साथ GSPSS ले विश्वभर योग, ध्यान, आत्मज्ञान तथा मानवीय मूल्यहरूको प्रवर्द्धन गर्दै आएको छ। साध्वी गंगा आचार्यका अनुसार यी कार्यक्रमहरूले आध्यात्मिक जागरण, व्यक्तिगत रूपान्तरण तथा विश्वशान्तिको अभियानलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।













