पशुपति बौद्ध तपोधाममा नारीहरूले तीज पर्व मनाउँदै शिव साधना र ध्यानमा सहभागी

तीजका नारीहरू पशुपति बौद्ध तपोधाममा ध्यान, साधना र तपस्यामा मग्न 🌸

 AusNepalnews,  सीमा आचार्य

अष्ट्रेलियाको Lyndhurstमा अवस्थित पवित्र पशुपति बौद्ध तपोधाममा यसपाली तीज पर्वको अवसरमा नारीहरूले भक्ति, साधना, ध्यान र तपस्यामा मग्न भई आफ्नो हृदय र आत्मालाई शुद्ध गर्दै जीवनको उच्चतम चेतनातर्फ उन्मुख भएका छन्।

तपोधामका प्रवक्ता राजेश घिमिरेका अनुसार, यस पर्वले केवल उत्सव मात्र नभई प्राचीन ऋषिहरूले प्रारम्भ गरेको आत्मबोध, साधना र तपस्याको स्मरण गराउने उद्देश्य राखेको छ। उपस्थित नारीहरूले शिव रूपी परम चेतनासँग गहिरो सम्वाद गर्दै ध्यान, साधना र कुण्डलिनी जागरणमा सहभागिता जनाए।

गुरु, लेखक र प्रख्यात आध्यात्मिक शिक्षक योगी आचार्य श्री राजन शर्माले प्रत्यक्ष रूपमा उपस्थितहरूलाई दीक्षा, ध्यान र आत्मज्ञान प्रदान गर्दै प्रत्येक साधकलाई आध्यात्मिक ऊर्जाको अनुभव गराउनुभयो।

आचार्य श्री शर्माका अनुसार, प्रत्येक पर्व र साधनामा वैज्ञानिक दृष्टिकोण, तपस्या र आत्मबोध बुझेर अभ्यास गर्दा मानिसले मोक्षको मार्गमा अगाडि बढ्न सक्छ। प्राचीन ऋषिहरूले धार्मिक पर्वलाई तपस्या र आत्मज्ञानको साधनामा रूपान्तरण गर्ने चलन स्थापन गरेका थिए।

पशुपति बौद्ध तपोधाम केवल साधना स्थल मात्र होइन, विश्व प्रसिद्ध आध्यात्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको केन्द्र पनि हो। यहाँको गौशाला, करिब २० हजार वर्ष पुरानो आदिवासी सम्पदा, आयुर्वेद उपचार केन्द्र, योगशाला, ध्यान केन्द्र र साधना स्थलहरूले आगन्तुकहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य प्रदान गर्छ।

विशेष गरी, यहाँको भूमि र वातावरणलाई सद्भावना, साधना र प्रकृतिसँग मेल राखेर विकसित गरिएको छ। यसैले पशुपति बौद्ध तपोधाम विश्वका लागि एक आकर्षक र शान्तिपूर्ण रीट्रीट स्थलको रूपमा परिचित छ, जुन मिनी नेपाल जस्तो अनुभव प्रदान गर्दछ।

GSPSs अभियानले प्रत्येक वर्ष विशेष ध्यान, साधना र तपस्याको माध्यमबाट विश्व जागरण ल्याउने उद्देश्य राखेको छ। यस कार्यक्रमले उपस्थित प्रत्येक नारीको मनलाई आध्यात्मिक प्रकाशले आच्छादित गर्दै परम कल्याण र आत्मबोधको बाटोमा अग्रसर गरेको छ।

🙏 आत्मा उजागर होस्, भित्री शक्ति जागृत होस्, र हरेक दिन तपस्याको प्रकाशले हृदयभरि उज्यालो ल्याओस्।

सम्बन्धित शिर्षकहरु