काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत भेटिएका छन् ।
प्रहरीका अनुसार चारै जनाको शव घरभित्र फेला पारेको हो । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।
गोरखा भीमसेन गाउँपालिका-६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका थिए । प्रहरीको अनुसार, ‘श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भयावह अवस्था छ। श्रीमानको शव अर्को कोठामा देखिन्छ।
त्यसैले श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको देखिएको छ । साथै सुसाइट नोट पनि फेला परेको छ । त्यसमा के लेखिएको भनेर खुलाईएको छैन् ।
दिनेशको छोरी सधैँ बिहान विद्यालय जाने गरे पनि सोमबार बिहान ८ बजे विद्यालय जान नआएपछि छिमेकी उनीहरूको घरमा गएका थिए। तर बोलाउँदा कोही पनि नबोलेको र घरको झ्याल ढोका समेत बन्द रहेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली घटनास्थलमा पुग्दा घरको सबै झ्याल ढोका भित्रबाट चुकुल लगाएर बन्द गरेको अवस्थामा फेला परेपछि प्रहरीले ढोकाको चुकुल फुटाएर भित्र प्रवेश गर्दा बीभत्स दृश्य देखेको थियो।
पाण्डे परिवारबारे जानकारहरूबाट प्रहरीले पाएको जानकारी अनुसार दिनेश १२ वर्ष जति कुवेत बसेर नेपाल फर्किएका थिए। उनी नेपाल फर्किएर गोरखाको घरमा नबसी तारेकेश्वरमा एक तले घर बनाएर बसेका थिए। उनी चार वर्ष अघि नेपाल आएपछि श्रीमतीसँग पटक-पटक विवाद हुने गरेको थियो।
सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको कथा सरकारलाई के थाहा !
चितवन घटनाझैँ यी दुवै जनाको झगडा पनि पटक-पटक प्रहरी कार्यालयसम्म पुगेको थियो। तीन पटक त उनीहरू बालाजु वृत्तमा पुगेका थिए।
दिनेश सम्बन्धविच्छेद गर्ने पक्षमा थिए। तर सुनिताले मानेकी थिइनन्। बरु उनी पनि विदेश जाने तयारीमा थिइन्। उनी बेलायत जाने तयारीमा लागेपछि घरायसी विवाद थप बढेको थियो। दिनेश उनी बेलायत जाने निर्णयको विपक्षमा देखिएको छ।
तर उनले प्रक्रिया अगाडि बढाइसकेकी थिइन्। उनको पासपोर्टमा ६ महिनाको सिजनल भिसा लगिसकेको थियो। दुई हप्तापछि बेलायत जान उनले आइतबार माछापोखरीमा रहेको मेगाड्रिम सहकारीमा आफ्नो नाममा रहेको पैसा झिकेर खाता बन्द गरेको देखिएको छ।
‘डिभोर्स गर्न नमानेको तर जवर्जस्ती बेलायत जाने तयारी गरेकाले पारिवारिक विवाद बढ्दा घटना भएको हुनसक्ने देखिन्छ,’ घटनास्थलमा रहेको एक प्रहरी अधिकारीले भने’ सुसाइड नोट पनि फेला परेकाले हत्या गरेर आत्महत्या गरेको सम्भावना बढी छ। तर पोस्टमार्टमको रिपोर्ट नआई अहिले नै यही हो भनिहाल्न सक्ने अवस्था छैन।







