दुई सातापछि भारतबाट विद्युत आयात रोकिने

काठमाडौं । नदीमा जलप्रवाह विस्तार भएसँगै विद्य्त् उत्पादन बढेको छ । हाल दैनिक साढे २८ हजार मेगावाट/प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । दैनिक ३४ हजार मेगावाट/प्रतिघन्टा रहेको छ ।

विद्युत् उत्पादन बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत् पनि घटाउँदै लगेको छ । सुक्खायाममा दैनिक १२ हजार मेगावाट/घण्टासम्म विद्युत् आयात गर्दै आएकामा पछिल्लो समय पाँच हजार मेगावाट/घण्टामा सीमित भएको छ ।

पछिल्लो साता मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि देशभित्रकै आयोजनाको विद्युत् उत्पादन बढ्दो छ । यसकै कारण आयात पनि कम गरे पुग्ने अवस्था आएको प्राधिकरणका प्रवक्ता सुरेशबहाद्र भट्टराईले जानकारी दिए ।

प्राधिकरणको पछिल्लो विवरणअनुसार शुक्रबार ३३ हजार ८९६ मेगावाट÷घण्टा विद्युत् माग भएकामा पाँच हजार ७५ मेगावाट/घण्टा मात्र आयात भएको छ । विद्युत्को उच्चतम माग सो दिन एक हजार ६४३ मेगावाट छ ।

सो माग पूरा गर्न नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजनाबाट १० हजार ४८७ मेगावाट/घण्टा, प्राधिकरण सहलगानीका आयोजनाबाट छ हजार २१२ मेगावाट/घण्टा विद्युत् उत्पादन भएको छ ।

त्यस्तै निजी आयोजनाबाट पनि १२ हजार ७२ मेगावाट/घण्टा विद्युत् आपूर्ति भएको छ । भट्टराईका अनुसार अब बढीमा १५ दिन मात्र विद्युत् आयात गर्नुपर्ने अवस्था छ । “त्यसपछि हाम्रो उत्पादनले हामीलाई पुग्ने मात्र नभएर बचत हुन्छ । अब दुई साताजति आयात गर्नुपर्ला, त्यसपछि प्राधिकरण निर्यात गर्नेतर्फ लाग्छ,” उनले भने । गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु