काठमाडौ- स्थानीय तह निर्वाचनमा जम्मा १ लाख ४५ हजार ११ को उम्मेदवारी छ। कुल एक करोड ७७ लाख ३३ हजार मतदाताले मतदान गर्नेछन् । निर्वाचन आयोगले भोलि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुन लागेको स्थानीय तह सदस्य निर्वाचन-२०७९ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य पनि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । यी ठाउँबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्ने छन् ।
आयोगका अनुसार मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।
स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् ।
५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख निर्वाचन आयुक्त, प्रमुख प्रतिपक्षी दलका नेता लगायतले सन्देश जारी गर्दै निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् ।
त्यस्तै, गृह मन्त्रालयले पनि स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।








