
काठमाडौं । एमाले र माओवादीले दुई पार्टी एक भएपछि बन्ने एकीकृत पार्टी सञ्चालनमा निर्णायक भूमिका हुने ‘हाइ-कमाण्ड’ बनाएको छ । ९ सदस्यी हाइकमाण्डमा ६ सदस्य एमालेबाट छन् भने ३ सदस्य माओवादीबाट रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले बनाएको यस्तो हाइकमाण्डको महासचिवको भूमिका विष्णु पौडेललाई दिइएको बालुवाटार स्रोतले दावी गरेको छ । पौडेलले संगठनसम्बन्धी सम्पूर्ण जिम्मेवारी पाउने स्रोतले दावी गरेको छ । त्यसैगरी हाइकमाण्डको प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ रहने बताइएको छ ।
हाइकमाण्डमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका साथमा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन् । एकीकृत पार्टीको ४३ सदस्यी स्थायी समितिमा एमालेबाट २५ र माओवादीबाट १८ नेता रहेपनि हाइकमाण्डमा भने एमालेको दुई तिहाई बहुमत रहेको छ ।








