क्रिकेट दुनियाँका सर्वकालिन महान् स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन

अस्ट्रेलिया । अस्ट्रेलियाका पूर्व क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। विश्वका सर्वकालीन लेग स्पनीरमध्ये एक मानिने सेन वार्नको थाइल्यान्डमा निधन भएको हो।

वार्नको म्यानेजमेन्ट टिमले संक्षिप्त विज्ञप्ति जारी गर्दै थाइल्यान्डमा उनको निधन भएको जनाएको छ। हृदयघातका कारण उनको निधन भएको आशंका गरिएको छ। ‘‘हलचल गर्न नसक्ने अवस्थामा आफ्नो कटेजमा सेन भेटिएका थिए र मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि उनलाई बचाउन सकिएन,’’ विज्ञप्तिमा भनिएको छ।

सेन वार्नले २३ वर्षको उमेरमा भारतविरूद्ध १९९२ मा सिड्नीमा भएको अन्तर्राष्ट्रिय टेस्टमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनले २००७ मा इङल्यान्डविरूद्ध सिड्नीमै अन्तिम टेस्ट म्याच खेलेका थिए। यसक्रममा उनले टेस्ट क्रिकेटमा ७ सय ०८ विकेट लिएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि उनले सन् २०१३ सम्म टी२० फ्रेन्चाइज लिग खेलिरहेका थिए। उनले सन् १९९९ को एकदिवसीय विश्वकप जितेका थिए भने १ सय ९४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा २ सय ९३ विकेट लिएका थिए।

१२ घण्टाअघिमात्रै वार्नले रोड मार्शको निधनमा शोक व्यक्त गर्दै ट्वीट गरेका थिए। अस्ट्रेलिया पूर्व विकेटकिपर ब्याट्सम्यान मार्शको ७४ वर्षको उमेरमा बिहीबार निधन भएको थियो।

सम्बन्धित शिर्षकहरु