काठमाडौं । काठमाडौं जिल्ला अदालतले बालिकाको झारफुक गर्ने क्रममा मृत्यु भएको प्रकरणमा संलग्न माता भनिने उमा ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
सिन्धुपाल्चोककी १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा जिल्ला अदालतले नागार्जुन नगरपालिका-१ रानीवन पानीट्यांकी बस्ने ४८ वर्षीया ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । त्यस्तै, अदालतले अर्की एक नाबालिकालाई सुधारगृहमा पठाउने आदेश दिएको छ ।
अदालतको बिहीबारको आदेशअनुसार ठकुरीलाई पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ठकुरीले झारफुक गर्दा गत २४ पुसको बिहान सिन्धुपाल्चोक घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने रोशनी श्रेष्ठ बेहोस भएकी थिइन् । उनलाई उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।
सोही दिन एक नाबालिकासहित मातालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त स्वयम्भूले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।
१८ माघमा घटनाको अनुसन्धान सकाएर प्रहरीले रायसहित प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौं जिल्ला अदालतमा बुझाएको थियो ।








