अष्ट्रेलिया । अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ। प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिडबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ।
अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो। मंगलबार त्यसअघिको २४ घन्टामा ती नागरिकको ज्यान गएको बताइएको छ।
त्यसैगरी यहाँका अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन्।
यहाँका सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यु साउथ वेल्सका रहेका छन्। न्यु साउथ वेल्समा गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ। त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घन्टामा सङ्क्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ।
अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ। यहाँ सङ्क्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
जनवरी १ देखि हालसम्म अस्ट्रेलियामा ५३० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ जुन हालसम्म मृत्यु भएका २ हजार ६६८ जनाको करिब २० प्रतिशत हो। अन्य देशको तुलनामा मृत्युदर कम हुँदा पनि अस्ट्रेलियामा अबको समयमा मृत्यु हुने र अस्पतालमा संक्रमितहरु भर्ना हुने दुवैमा वृद्धि हुने प्रमुख मेडिकल अफिसर प्रो पल केलीले चेतावनी दिएका थिए।
‘यहाँ यति धेरै केसहरू देखिइरहँदा पनि अझ केसहरु वृद्धि हुनेछन्। र, हामी यसबारेमा स्पष्ट छौँं। मैले यसबारे धेरै पटक भनिसकेको छु। हामीले मृत्युदरमा वृद्धि भएको देख्नेछौं, र देखेका पनि छौं’ उनले भने, ”
अस्पताल भर्ना हुने दर र मृत्युदर संक्रमणको संख्या भन्दा दुई देखि तीन हप्ता पछाडि छ, त्यसैले पनि अस्ट्रेलियामा भविष्यमा मृत्युदर बढ्ने आशंका गरिएको छ।
युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाका बायोस्ट्याटिस्टिक्स तथा एपिडेमियोलोजीका प्रोफेसर एड्रियन एस्टरम्यानले अस्ट्रेलियामा कोभिडका लागि राष्ट्रिय डाटा संकलन केन्द्रको अभाव भएको भन्दै राष्ट्रिय रूपमा कोभिडसम्बन्धी कुराहरुको एकल परिभाषाहरू पनि नहुनु ‘पागलपना’ भएको टिप्पणी गर्छन्।
राज्य र क्षेत्रहरूले दैनिक केसहरूको विवरण रेकर्ड गर्दा फरक फरक समयसीमाहरू प्रयोग गर्ने गरेको एस्टरम्यानले औँल्याए। २४ घण्टा अवधि सुरु हुने र समाप्त हुने समय ठाउँ अनुसार फरक भएको उनले बताए।
‘उनीहरू एकै समयसीमामा समेत सहमत हुन सक्दैनन्,’ उनले भने।
संघीय स्वास्थ्य विभागले मृत्यु हुने व्यक्तिहरुको उमेर र लिंगबारेको जानकारी प्रकाशित गर्ने गरेको छ। यता, राज्य र क्षेत्रहरूले केही स्थानीय सरकारका क्षेत्रीय डेटा प्रकाशित गर्ने गरेको छन्।
मृत्यु हुनेहरुमध्ये धेरैजसो ७० वर्ष वा सोभन्दा माथिको उमेर समूहका व्यक्तिहरू छन्। यद्यपि यहाँ हरेक उमेर समूहका मानिसहरुको मृत्यु भएको छ।
धेरैजसो वर्गहरूमा, मृत्यु हुनेहरुको संख्या पुरुषहरूको बढी छ। तर, ९० वर्ष भन्दा माथिको समूहमा भने महिलाहरूको बढी मृत्यु भएको छ।
सबै उपलब्ध प्रमाणहरूले ओमोक्रन भेरियन्ट डेल्टा जत्तिको घातक नभएको देखाउँछ। तर अस्ट्रेलियाले त्यसबारे वास्तविकता पत्ता लगाउन पर्याप्त परीक्षणहरु गरिरहेको छैन। यसैबिच, अझै पनि डेल्टा भेरियन्टका कारण मानिसहरूको मृत्यु भइरहेको छ जबकि अहिले ओमोक्रनका केसहरु धेरै देखिएका छन्।








