अष्ट्रेलिया । आदिवासी सार्वभौम अधिकारका लागि भएको विरोध प्रदर्शनका दौरान विहीवार प्रदर्शनकारीहरुले अष्ट्रेलियाको राजधानी क्यानवेरा स्थित पूर्व संसद् भवनमा एकछिन आगो लगाएको प्रहरीले जनाएको छ । सो भवनको मूलद्वार जलेर ध्वस्त भएको छ भने आगजनीमा मानवीय क्षती भएको छैन ।
विगत दुई सातादेखि सो स्थानमा प्रदर्शन हुँदै आएको हो ।
अष्ट्रेलियामा यस्तो किसिमको हिंसात्मक प्रदर्शन विरलै हुने गरेको छ । कोरोना भाइरस महामारीको समय लकडाउन र अन्य सरकारी नीति विरद्ध सामान्य झडपहरु भने हुँदै आएका थिए । प्रत्यक्षदर्शीहरुले यस पछिल्लो प्रदर्शनमा भागलिने मध्ये केहिले आफुहरुलाई सरकार विरोधि तथा ‘सार्वभौम अधिकार सम्पन्न नागरिक’ समूहहरुका सदस्य भनेर चिनाएका थिए ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कोट मोर्रिसनले भनेका छन्, ‘यसरी अष्ट्रेलिया चल्दैन । यस देशको यस्तो प्रजातन्त्रको प्रतीक जलाउन आउने अष्ट्रेलियालीहरुको बानीव्यहोरा देखेर मलाई वाक्कै लागिसकेको छ ।’
आगलागि शुरु हुनासाथै सो भवनभित्र कार्यरत कर्मचारीहरुलाई सुक्षित ढंगले बाहिर निकालिएको थियो । अहिले अष्ट्रेलियाली प्रजातन्त्रको संग्रहालयका रुपमा चिनिने यस भवन सामु आदिवासी प्रदर्शनकारीहरुले धर्ना दिन थालेपछि गत २० डिसेम्वर देखि यसका ढोकाहरु बन्द राख्ने गरिएको थियो ।








