अष्ट्रेलिया । अष्ट्रेलियामा कोरोना संक्रमणकोदर बढ्दै गएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण तिब्र रूपमा बढिरहेको भन्दै विभिन्न राज्य सरकारले लगाएका लकडाउन अवधि लम्ब्याएका छन्। न्यु साउथ बोगन, बर्क, ब्रेवारिन्ना,कूनाम्बल,गिल्गान्ड्रा,नारोमाइन, वाल्गेट र वारेन क्षेत्रमा लक डाउन लागू भएको छ ।
यी काउन्सिल एरियामा बस्ने मानिसहरूले पाँच किलोमिटरभन्दा टाढा भ्रमण गर्न नपाउने लगायतका कडा प्रतिबन्धहरूको सामना आज बेलुका ५ बजेदेखि गर्नुपर्नेछ। अष्ट्रेलियन क्यापिटल टेरिटरीमा बिहीबारदेखि लकडाउन लागु भएको छ। बिहीबार बेलुका ५ बजेदेखि एक साता लामो लकडाउन लागु भएको हो।
समुदाय स्तरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य राज्यमा जस्तो संक्रमण फैलिन नदिन लकडाउन गर्ने निर्णय गरिएको राज्य सरकारले जनाएको छ। यसैबीच लकडाउन घोषणा पश्चात ती व्यक्तिको नजिकको सम्पर्कमा आएका तीन जनाको कोरोना परिक्षणको नतिजा पनि पोजेटिभ आएको छ।
अष्ट्रेलियन क्यापिटल टेरिटरी मा लागु गरिएको लकडाउन अवधिभर अत्यावश्यक सामान खरिद गर्न, भ्याक्सिन लगाउन, हेल्थकेयर सम्बन्धि काम, घरबाट गर्न नसकिने अत्यावश्यक कार्यालयको कामका लागि बाहिर निस्कन सकिनेछ। त्यसैगरी शारीरिक अभ्यासका लागि एक घण्टासम्म मात्र बाहिर रहने अनुमति हुनेछ। रिटेल बन्द रहनेछन् भने हस्पिटालिटी क्षेत्रमा टेक अवे सेवाका लागि मात्र अनुमति हुनेछ।
अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलर्बनमा एक साताको लागि लकडाउन थपिएको छ । एकैदिन यो सहरका २० जना मानिसमा कोरोना संक्रमण देखिएसँगै मेलबर्नमा लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमणले अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ ।
मेलबर्नमा यसअघि लगाइएको लकडाउन बिहीबारबाट सकिँदै थियो । तर, संक्रमण नियन्त्रणमा नआएको भन्दै अष्ट्रेलियाले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
मानिसहरुले कडा लकडाउनको विरोध गर्दै लकडाउन हटाउनुपर्ने माग गरिरहेका छन् तर बुधबार भिक्टोरियाका प्रिमियर डान एन्ड्र्युजले अगष्ट १९ सम्म लकडाउन जारी रहने घोषणा गरेका हुन् । उनले अहिले लकडाउन खुकुलो पारेको अवस्थामा संक्रमण झन् बढ्नै भन्दै लकडाउन जारी राख्नु जरुरी रहेको बताएका हुन् ।
एक साताका लागि भन्दै मेलबर्नमा जारी लकडाउनको समय सीमा बढाइएपछि आज भिक्टोरियाली रोजगार मन्त्री मार्टिन पकुलाले व्यवसायहरूका लागि थप आर्थिक सहयोगका कार्यक्रमहरू घोषणा गरेका छन्।
उनले यी नयाँ सहयोगहरू आफू सम्मिलित प्रिमियर ड्यानिएल एन्ड्रुज नेतृत्वको राज्य सरकार र प्रधानमन्त्री स्कट मोरिसनको सङ्घीय सरकार बिच निकै फलदायी वार्ताको निष्कर्षबाट प्राप्त भएको बताएका छन्। एक वर्ष यता कोरोनाभाइरसको कुनै सामुदायिक घटना दर्ता नगरेको अस्ट्रेलियन क्यापिटल टेरिटरीले गएको २४ घण्टामा पहिलो पटक कोभिड-१९ को नयाँ केस फेला परेको बताएको छ।








