ब्रिसवेन, अष्ट्रेलिया। ब्रिसवेनस्थित फुटबलप्रेमि नेपालीहरुको गैर नाफामुलक संस्था सिम्रिक फुटबल क्लबले हालै आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। करिब ३० जना रेगुलर प्लेयरहरु र एक सय भन्दा बढि साधारण सदष्यहरु रहेको क्लबले आफ्नो स्थापनाको छोटो समयमानै त्यहाँ बसोवास गर्दै आएका नेपालीहरुबिच आफ्नो छुट्टै परिचय बनाइसकेको छ।
पाँच सात जना फुटबल खेल्न मन पराउने साथिहरुको समुह हुँदै फुटबल क्लबको रुपमा क्विन्सल्याण्डमा दर्ता भएको यस क्लबले आफ्नो साधारणसभा अगाडि वार्षिक रुपमा रक्तदान गर्दै आएकोमा यस वर्ष कोभिड प्रोटोकलका कारण त्यसो गर्न नसकिएको क्लबका अध्यक्ष सुनिल पराजुलीले बताए।
राजनितिले विभाजित गरेको नेपाली डायस्पोरालाई स्पोर्ट्सको माध्ययमबाट जोड्ने उद्देश्यले हाल ब्रिसवेनको नर्थ र साउथ गरि दुवै स्थानका करिब ३० जना बालवालिकालाई फुटबल सिकाउने र भविष्यमा सिम्रिक किड्स एकेडेमीको पनि सुरुवात गर्ने उद्देश्यले क्लबका क्वालिफाइड ट्रेनरहरुले हरेक आइतबार निशुल्क ट्रेनिङ संचालन गरिरहेका छन्।
सिम्रिक फुटबल क्लब नेपालीहरुबिच मात्र परिचित नभइ फुटबल क्विन्सल्याण्डले हरेक वर्ष आयोजना गर्ने क्यू लिगमा पनि आफ्नो प्रभाव जमाउन सफल क्लब मानिन्छ। क्लबले गत वर्ष प्लेअफबाट बिदा हुनु परे पनि यस वर्षको लिग लिडरको रुपमा छ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षीत गरिसकेको छ। ब्रिसवेनमा रहेका करिब बाह्रवटा नेपाली क्लबहरु संचालनमा भएतापनि फुटबल क्विनस्ल्याडको २४ वटा टिम सम्मिलित क्यू लिगमा करिब चारवटा नेपाली क्लबहरुले सहभागिता जनाएका छन्। हालसम्मको नतिजा अनुसार सिम्रिक क्लब अंक तालिकाको पहिलो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो।
साधारण सभाले गत वर्ष सफल कार्यकाल सम्पन्न गरेका कार्यसमित सदष्य लागायत क्लबका प्रायोजकहरु माइट्स ईन्टरनेसन, क्विसफोर्ड कलेज र लेण्ड एण्ड लिज रियाल्टीलाई धन्यवाद प्रस्ताव सर्वसहमतिले पारित गरेको थियो। यसै अवसरमा बोल्ने क्रममा क्लबका सल्लाहकार मध्येका एक अग्रज व्यक्तित्व डा. मनोज खनालले क्लबको प्रगतिमा आफुले ईटा थप्न पाएकोमा खुसि व्यक्त गरे। क्लबका अर्का सल्लाहकार फुटबलप्रेमी अमित अर्यालले पुरानो कार्यसमितिलाई बिदाई गर्दै नयाँ सदष्यहरुसँग जोडिन पाउँदा हर्षित भएको बताए। अर्यालले गत वर्ष स्प्रिङफिल्ड युनाईटेड फुटबल क्लबले आयोजना गरेको ३५ वर्ष भन्दा माथीको उमेर समुहको खेलमा आफैं सहभागी भएर टाइटल जित्दाको समय स्मरण गर्दै, क्लबले बालबालिकादेखि सबै उमेर समुहलाइ समेटेकोमा धन्यवाद दिए।
साधारण सभा मार्फत नयाँ कार्यसमितिको अध्यक्षमा सुनिल पराजुलि, सचिवमा उत्सव श्रेष्ठ, कोषाध्यक्षमा प्रमोद सापकोटा र सदष्यहरुमा प्रशान्त घिमिरे, निश्चल जोशी , कुशल जोशी र अमृत बस्नेत सर्वसहमतिबाट चुनिएका थिए। नयाँ कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ।








