७ वटै प्रदेशमा पठाइयो कोरोनाको खोप, ३०० अस्पतालमा बुधबारबाट लगाउने तयारी

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाइएको छ । शनिबार नै खोप प्रदेशमा पठाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लक्षित समूहलाई पहिलो चरणमा लगाउनका लागि सातवटै प्रदेशमा पठाइएको हो ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको थियो । गौतमका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ ।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । प्रवक्ता गौतमले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

उक्त खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको हो । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।

अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।

१४ गते बाट खोप लगाउन शुरु गरिने

कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन सुरू हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका हुन ।

खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए ।

पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षकहरु