‘ओली सच्चिए भन्ने लागेको थियो, दुई जनाले सदन हत्या गर्न मिल्छ ?

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली अहिलेसम्म पनि बयलगाढावाला सिद्धान्तमै अडिग रहेको बताएका छन् ।

राजधानीमा आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले गणतन्त्रलाई स्वीकार गरिनसकेको र बयलगाडाकै सिद्धान्तमा रहेको टिप्पणी गरेका हुन् । केपी ओलीलाई चिन्न नसकेको भन्दै उनले क्षमासमेत मागेका छन् ।

‘गणतन्त्रको पक्षमा आँधीहुरी आए पनि म स्वीकार्छु भन्नुभएको थियो । तर, ओलीले मनबाट गणतन्त्र स्वीकार गर्नुभएको थिएन । प्रतिनिधिसभा विघटन गरेर उहाँ बयलगाडामा नै अडिग रहेको प्रष्ट देखिएको छ । उहाँलाई चिन्न नसकेकोमा म जनतासमक्ष माफी माग्न चाहान्छु,’ प्रचण्डले भने ।

सभामा बोल्दै उनले भने, ‘हामीले बुझ्न सकिएन छ,केपी ओलीलाई । यति छिटो संविधानमाथि निमर्म प्रहार गर्न सकेको थिएन् । हामीले बनाएको कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नुहोला भनेर सपनामा पनि सोचेका थिएनौं ।’

उनले भने आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा चाहान्छु । ‘तीन वर्षअघि पार्टी एकीकरणको प्रस्ताव लिएर जाँदा तीन वर्षपछि ओलीका विरुद्ध आन्दोलन गर्नुपर्ला भनेर सोचेको थिइनँ, विडम्बना आज विरोध प्रदर्शन र सभा गर्दैछौं,’ प्रचण्डले भने ।

प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाएकोमा क्षमा माग्नुपर्ने अवस्था आएको बताए ।

‘गणतन्त्र उहाँको सिद्धान्त होइन, बयलगाडावाला सिद्धान्त हो भन्ने थाहा थियो । उहाँ संघीयता र धर्मनिरपेक्षता पक्षधर होइन भन्ने थाहा थियो, तर गणतन्त्रको बाढी आएपछि उहाँ बगेर आउनुहोला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘आज घटनाक्रमले के पुष्टि गर्‍यो भने उहाँ गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ ।’

सम्बन्धित शिर्षकहरु