नेप्से पुनः २ हजारमाथि, यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक २ हजार १०.४५ बिन्दु पुगेर बन्द भएको छ । अघिल्लो साता उतारचढावपूर्ण रहेको बजारले यस साता भने सकारात्मक शुरुवात गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज आइतबार नेप्से परिसूचक २.३६ प्रतिशत अर्थात ४६.४३ बिन्दुले बढेको छ । ठूला र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स समेत आज ८.०९ अंकले बढेर ३८२.१२ बिन्दुमा उक्लिएको छ ।

आजको कारोबार अवधिमा कूल २०३ ओटा कम्पनीको ४३ हजार ५८४ पटकको व्यापारमा ९० लाख ५० हजार १६ कित्ता शेयर खरिदबिक्री भएका छन् भने ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार व्यापार, होटल र जलविद्युत समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाउदा नेप्से परिसूचक उकालो लागेको हो । यसदिन जलविद्युत समूहका लगानीकर्ताहरुले १.६३ प्रतिशत, व्यापार समूहकाले १.५१ प्रतिशत र होटल समूहका लगानीकर्ताहरुले ०.२९ प्रतिशतले गुमाए ।

यता उत्पादन तथा प्रशोधन समूह र जीवन बीमा समूहका लगानीकर्ता भने आज मालामाल भएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ५.९९ प्रतिशत, जीवन बीमा समूहको ४.३७ प्रतिशत, बैंकिङ समूहको ३.१९ प्रतिशतले परिसूचक बृद्धि भएको छ ।

त्यस्तै, लघुवित्त समूहको परिसूचक १.८६ प्रतिशत, निर्जीबन बीमा समूहको परिसूचक १.८४ प्रतिशत, विकास बैंक समूहको १.७२ प्रतिशत, म्युचुअल फण्ड समूहको १.०१ प्रतिशत, अन्य समूहको ०.९२ प्रतिशत र वित्त समूहको परिसूचक ०.८२ प्रतिशतले बढेको हो ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आइतबारको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार सर्वाधिक बढी रकमको भएको नेप्सेको आँकडा छ । उक्त कम्पनीको ६७ करोड एक लाख ७२ हजार रुपैयाँबढीको कारोबार भएको हो ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ९४ लाख ५६ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टलरीको ३० करोड ६५ लाख ८२ हजार रुपैयाँको कारोबार भएको देखिएको छ ।

माथिल्लो तामाकोशीको १८ करोड १७ लाख ९४ हजार रुपैयाँ र चिलिमे हाइड्रोपावरको १५ करोड २८ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयरमूल्य घटेका / बढेका कम्पनीहरु
आइतबार लघुवित्त संस्थाहरुको शेयरमूल्य सबैभन्दा बढी बृद्धि भएको छ । माहुली सामुदायिक लघुवित्तको शेयरमूल्य ९.९४ प्रतिशत अर्थात ८९ रुपैयाँले बढेर अन्तिम मूल्य ९८४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, साधना लघुवित्तको शेयरमूल्य ९.९१ प्रतिशत अर्थात १०३ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता एक हजार १४२ रुपैयाँ कायम भएको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समेत ९.८२ प्रतिशतले बद्धी भएको छ ।

त्यस्तै, हिमालयन डिस्टीलका लगानीकर्ताहरुले ९.१५ प्रतिशत र शिवम् सिमेन्टका लगानीकर्ताहरुले ७.२६ प्रतिशतले नाफा कमाएका छन् ।

आजको बजारमा माथिल्लो तामाकोशीका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । उक्त कम्पनीको शेयरमूल्यमा ४.८४ प्रतिशतको गिरावट आएको हो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा पनि ३.५५ प्रतिशत गिरावट आएको छ ।

सम्बन्धित शिर्षकहरु