अष्ट्रेलिया । अष्ट्रेलिया आउँदा ल्याउन प्रतिबन्धित सामान ल्याएका कारण १४ जनाको भिसा रद्द भएको छ। अक्टोबर २०१९ देखि यता १४ जनाको भिसा रद्द भएको हो।
१४ जना मध्ये पछिल्लो पटक सिंगापुरबाट पर्थ आएका दुई जनाको भिसा रद्द भएको थियो। अगस्ट २८ मा आएका उनीहरुले मासुजन्य खाना प्याक गरेर ल्याएका थिए।
भिसा रद्द गरिएपछि सम्बन्धित व्यक्तिलाई तीन वर्षको लागि अष्ट्रेलिया प्रवेशको अनुमति दिने सम्भावना न्युन रहन्छ। प्रतिबन्धित सामान ल्याउँदा भिसा रद्द हुने नियम गत वर्षदेखि लागु भएको हो।
अष्ट्रेलिया आउने व्यक्तिले खानेकुरा ल्याउँदा समेत वातावरणमैत्री र स्वस्थ हुनुपर्छ । यदि खानेकुरा वातावरणमैत्री छैन भने इमिग्रेसन क्लियरेन्समै भिसा रद्द हुन सक्छ ।
अष्ट्रेलिया आउँदा आफूले ल्याएको सामान बारे इमिग्रेसन क्लियरेन्समा प्रष्ट बताउन नसकेमा र त्यो यहाँको नियम भन्दा विपरित भएमा इमिग्रेसन क्लियरेन्सका अधिकारिहरुले नै कारबाही अगाडी बढाउछन् ।
अष्ट्रेलियाको अध्यागमन विभागले गत वर्ष अष्ट्रेलिया आउँदा ल्याउन पाइने र नपाइने सामानको सुची सार्वजनिक गर्दै भिसा रद्द हुनसक्ने , पोइन्ट कम गरिदिने, जेल चलान हुनसक्ने र ४ लाख ४४ हजार डलर जरिवाना हुनसक्ने नियम ल्याएको थियो।
उक्त सुची अनुसार दुधबाट बनेका परिकार जस्तै, मिठाइ, पनिर् आदि ल्याउन पाइने छैन । त्यस्तै फलफुल, मसलाहरु, ड्राइ फ्रुट ल्याउन पाइने छैन । सुकाएको जडिबुटी, कफी, ब्रेड, चकलेट, बिस्कुट ल्याउन पाइनेछ ।
औषधि ल्याउनु परेमा औषधि सहित डाक्टरले लेखिदिएको प्रेसक्रिप्सन कागज पनि संगै हुनुपर्नेछ । प्रेसक्रिप्सन कागज आधिकारिक र अंग्रेजी भाषामा लेखिएको हुनुपर्नेछ ।
बिरुवाहरु ल्याउँदा कृषि तथा जल विभागको स्वीकृति लिएको भएमा मात्र ल्याउन पाइनेछ ।
अष्ट्रेलिया आउँदा के ल्याउन पाउने र के नपाउने भन्ने विस्तृत जानकारीको लागि सूचीमा क्लिक गर्नुहोस् ।








