अस्ट्रेलियामा लकडाउनविरुद्ध ‘स्वतन्त्रता’को नारासहित आन्दोलन, दर्जनौं प्रदर्शनकारी पक्राउ

अस्ट्रेलिया । अस्ट्रेलियन प्रहरीले लकडाउनविरुद्ध आन्दोलनमा निस्किएका दर्जनौंलाई पक्राउ गरेको छ। देशभर जारी आन्दोलनका प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यहाँ मेलब्रनबाट कोरोना भाइरसको संक्रमण फैलन सुरु भएको हो। त्यहाँ जारी लकडाउनविरुद्ध ३ सय मानिस भेला भएका थिए। त्यस्तै सिड्नी, ब्रिसबेन, एडिलेड र पर्थमा पनि प्रदर्शन भइरहेको छ।

शुक्रवार मात्र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको आठमध्ये ७ राज्यहरूले आउँदो डिसेम्बर सम्ममा आन्तरिक सीमा खुला गर्ने बताएका थिए। उनले न्यूजिल्याण्डसँगको सीमा खुला गर्न सके पर्यटन क्षेत्रलाई राहत हुने र त्यसले देशको अर्थतन्त्रलाई फाइदा गर्ने बताएका हुन्।

‘कोभिड(१९ विरुद्ध भ्याक्सिन नबनेसम्म हामीले यसैगरी बाँच्नु पर्ने हुन सक्छ’, उनले चेतावनी दिए।

त्यहाँ हालसम्म २६ हजार २ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै कोभिड(१९ कै कारण मर्नेको संख्या ७ सय ४८ पुगेको छ। कुल संक्रमितको ७५ प्रतिशत र मृतक संख्याको ९० प्रतिशत् भिक्टोरिया राज्यकै छ।

मेलब्रन जोखिम क्षेत्र भएका कारण त्यहाँ कडा प्रतिबन्ध गरिएको छ। मानिसहरूलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। अत्यावश्क बाहेक व्यापार, व्यवसाय र सार्वजनिक सभा, समारोहमा रोक लगाइएको छ।

यस्तोबीच मेलब्रनका आन्दोलनकारी ‘स्वतन्त्रता’ र ‘मानव अधिकार’को नारा लगाउँदै निस्किए। त्यहाँबाट मात्र १५ जना पक्राउ परेका छन्। जसमध्ये १४ जनामाथि लकडाउनको नियम भंग गरेको आरोप छ भने एकजनामाथि प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ।

सम्बन्धित शिर्षकहरु