उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं  । उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय गरेको हो ।

औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिने जनाइएको छ ।

उपत्यकामा निषेधाज्ञा जारी रहेपनि दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यस्तो निर्णय आएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकले गत बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको कारण काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। भित्रि बाटोका पसलहरु भने खुल्ला नै रहेको छ ।

सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्।

ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ।

तीनबटै जिल्लाका स्थानीय प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन्। मर्निङ वाकमा समेत ननिस्कन अपिल गरिएको छ।

सम्बन्धित शिर्षकहरु