फ्याक्ट चेकः पास्टर हाेइनन् टीकापुर घटनाका आराेपी, मृत्युकाे खबर छोराले नै लुकाए

कैलाली । कैलालीको टीकापुर-१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको खबरले यतिबेला टीकापुरमा खैलाबैला सुरू भएको छ ।

स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयबासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको थियो । त्यहाँको बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको हो । शक्तिनगर शिविरका अगुवा मोतीराम (चौधरी) डगौरा मुटुको बिरामी थिए ।

घटनाको नालीबेली यस्ताे छः
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक(डीएसपी) मधुसुदन न्यौपानेका अनुसार मोतीराम डगौरालाई त्यस शिविरमा रहेको दिपक चौधरीको घरमा प्रार्थना गराउन गाडीमा राखेर ल्याइयो ।

मृतककी श्रीमती लक्ष्मी डगौराले भन्नुभयो, “मेरो श्रीमान लामो समयदेखि मुटु रोगको बिरामी हुनुहन्थ्यो । मुटु रोगको बिमारका कारण औषधि सेवन गरेको भए तापनि निको भएन ।” श्रीमती डगौराका अनुसार गाडीमा राखेर प्रार्थना गराउन उनकै छोरा ईश्वर चौधरीले लिएर गएका थिए । ईश्वर २१ वर्ष उमेरका हुन् । मोतीराम चौधरीको स्वास्थ्य अवस्था अतिनै गम्भीर भएकोले प्रार्थना गरिरहेकै बेला उहाँको मृत्यु भएको मृतककी श्रीमती डगौराले बताउनुभयो ।

कैलालीको टीकापुर स्थित गणेशपुरमा प्राकृतिक प्रकोपबाट जोगाउन बनाइएको शिविर नजिक बस्ने मोतीराम डगौरा विगत लामो समयदेखि मुटुका बिरामी हुनुहुन्थ्यो । कोहलपुरको अस्पतालमा उहाँको उपचार गरी फर्कनुभएको र औषधि लामो समयसम्म सेवन गर्दा पनि निको नभएको अवस्थामा उहाँ र उहाँको परिवारले ख्रीष्टियन धर्ममा विश्वास गर्न थालेको स्थानीयबासी तथा टीकापुर नगरपालिका वडा नं. १ का जनप्रतिनिधि सीता चौधरीको भनाइ छ ।

टीकापुर नगरपालिकाका ख्रीष्टियनहरूको स्थानीय संगठन टीकापुर ख्रीष्टिय एकता समाजका कोषाध्यक्ष मङ्गल चौधरी र उपाध्यक्ष खडक साहुले मोतिराम ख्रीष्टियन रहेको पुष्टि गर्नुभयो ।

मोतीरामको निधन भएपछि स्थानीय अगुवा दिपक चौधरी र सराेकारवालाहरूले अब घरमा लगेर मृत्युको सदगद गर्न आग्रह गरे । “मेरो बुवा निको हुनुहुन्छ, घरमा आएर प्रार्थना गरिदिनुस्”, ईश्वर डगौराको भनाइ उद्धृत गर्दै इलाका प्रहरी प्रमुख न्यौपानेले नयाँ सञ्चारसँग भन्नुभयो, “केही स्थानीय ख्रीष्टियान महिलाहरूलाई र स्वयम् दिपकलाई प्रार्थना गर्न लगाएका रहेछन् र झण्डै २/३ किलोमीटर पर बस्नुभएकी आमालाई पनि थाहा नदिएको पाइयो ।”

विभिन्न सञ्चारमा समाचार आएजस्तो दिपक चौधरी पास्टर नभएको त्यहाँका स्थानीय ख्रीष्टियान अगुवाहरूको भनाइ छ ।

मृत्युकाे खबर छोराले नै लुकाएः प्रहरी
इलाका प्रहरी कार्यालय टीकापुरको पहलमा चौधरी समुदायका मुख्या तथा स्थानीय भाषामा बड्गरहरूसँगको कुराकानी र सोधपुछअनुसार उक्त घटनामा कोही व्यक्तिको पनि कुनै गलत नियत नभएको तर स्वयम् मृतककै छोराले खबर गर्न ढिलाई र मनाई गरेका हन् ।

“सरकारी वकिलहरूसँगको छलफलमा पनि सोही निष्कर्ष निस्केको तर अझै अनुसन्धान टुङ्गिएको छैन ।”, प्रमुख न्यौपानेले नयाँ सञ्चारलाई भन्नुभयो, “अनुसन्धानको क्रममा कसैको गलत नियत र संलग्नता भएको प्रमाण पाइएमा कानुनले छोड्ने छैन ।”

स्थानीय अगुवा तथा बस्ती सुरक्षा समितिका बुद्धि दमाईले प्रहरीलाई खबर गरेका थिए । प्रहरीमा उजुरी दिँदा दिपकलाई पास्टर भनेर लेखिएको थियो । तर मङ्गलबार त्यहाँका स्थानीय र ख्रीष्टियन अगुवाहरूले सोधखोज गर्दा दिपक चौधरी साधारण ख्रीष्टियन मात्र भएको तर पास्टरको जिम्मेवारीमा नभएको पाइएको छ ।

“पहिले नै जाहेरीमा दिपकलाई पास्टर भनेर लेखिएको रहेछ । इलाका प्रहरी कार्यालयको मुद्धा विभागले अब मेटाउन मिल्दैन भनेको छ । यसले घटनालाई थप विवादित बनायो ।”, स्थानीय ख्रीष्टियन अगुवाहरूले गुनासो गरे । उक्त घटनाले धर्मको नाममा अविश्वास र घृणा उत्पन्न हुन सक्नेतर्फ घटना मोडिएको स्थानीय सरकोकारवालाहरूको भनाइ छ । यता, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी बी गहतराजले उक्त घटनाबारे अध्ययन गरिरहेकाे बताउनुभयाे ।

मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको थियो । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

(प्रहरी, मृतककी श्रीमती, जनप्रतिनिध र स्थानीयहरूसँगकाे कुराकानीकाे आधारमा ) (नँयासंचार डटकमबाट सभार समाचार )

सम्बन्धित शिर्षकहरु