हत्याको आशंकामा जलाउन तयार गरिएको शव बरामद

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले पशुपति आर्यघाटमा जलाउन तयार गरिएको शव बरामद गरेको छ ।

ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरि उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पहरीले पक्राउ गरेको हो ।

आफ्नै छोराले मृतकको हत्या गरेको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो ।

त्यसै क्रममा सन्तोषले बाबुलाई कुटेर घाइते बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान बाबु बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लागि लगिएको छोरा सन्तोषले प्रहरीलाई बताएका थिए । अस्पातल पुर्याएर चेक् जाँच गर्ने बित्तिकै चिकित्सकहरुले भने मृत घोषणा गरेका थिए ।

दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित शिर्षकहरु