सरिता गिरीको पदमा लीलादेवी सिटौलालाई सांसद घोषणा

काठमाडौं । समाजवादी पार्टीबाट बर्खास्त गरिएकी सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरिएको छ ।

समाजवादी पार्टीले सिफारिस गरेपछि निर्वाचन आयोगले सिटौलालाई  सांसद पदमा निर्वाचित भएको घोषणा गरेको हो ।

समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो ।
सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयबाट जानकारी आएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

समाजवादीको खस आर्य महिला कोटाबाट सांसद बनेकी गिरीलाई फिर्ता बोलाएपछि उनीपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी सिटौलाले अवसर पाएकी हुन ।

समाजवादी पार्टीले गिरीलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। समानुपातिक सांसद पदमुक्त भए बन्द सूचीमा रहेको रोलक्रमका आधारमा नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ।

सरकारले नेपालको नयाँ अध्यावधिक नक्सा जारी गर्ने घोषणा गरे लगत्तै देखि देशहित विरुद्ध बोल्न थालेकी गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयककाविरुद्ध संशोधन दर्ता गराएकी थिइन् । गिरीको उक्त निर्णय फिर्ता लिन पार्टीले निर्देशन दिए पनि उनले नमानेपछि पार्टीले उनलाई कारवाही गरेको हो ।

सम्बन्धित शिर्षकहरु