आयुर्वेद विश्वविद्यालयको नेतृत्वमा विदेशी पनि रहन पाउने प्रस्ताव प्रस्तुत

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा प्रस्तुत गरिएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक’मा विदेशी र गैरआवासीय नेपालीलाई पदाधिकारीमा नियुक्ति वा मनोनयन गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएकोे छ ।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा समितिमा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावमा आयुर्वेद विश्वविद्यालयको नेतृत्वमा विदेशी नागरिक पनि आउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।
हाल रहेका विश्वविद्यालयहरुमा पदाधिकारी, प्राध्यापक, अनुसन्धानकर्ता र कर्मचारीका रुपमा काम गर्न नेपाली नागरिक नै हुनुपर्ने प्रावधान रहेको छ ।
योगमाया विश्वविद्यालयमा संरक्षक समिति, कार्यकारी परिषद, प्राज्ञिक परिषद, स्कुल, अनुसन्धान केन्द्र र विद्या परिषद रहने प्रस्ताव गरिएको छ ।
विश्वविद्यालयको पदाधिकारीहरुमा सभापति, अध्यक्ष, उपाध्यक्ष, डीन र निर्देशक रहनेछन् ।
धेरै अन्तर्राष्ट्रिय विश्वविद्यालयमा विदेशी नागरिक पनि हुन पाउने प्रचलन रहेको कारण नेपालमा पनि यस्तो व्यवास्था ल्याउन प्रस्ताव गरिएको मन्त्रालयको भनाइ छ ।
यसअघि शिक्षा मन्त्रालयले मदन भण्डारी विश्वविद्यालयमा पनि विदेशी नागरिक पदाधिकारी हुन सक्ने व्यवस्था प्रस्ताव गरेको थियो ।

आयुर्वेद विश्वविद्यालयमा अध्यक्षात्मक प्रणाली रहने शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ । नेपालका अरु विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ ।

मन्त्रालयले विश्वविद्यालयको सर्वोच्च निकायका रुपमा संरक्षक समिति प्रस्ताव गरेको छ । संरक्षक समितिका सदस्यमध्ये एक जना सभापति चयन हुने प्रस्ताव छ । भोजपुर र संखुवासभा जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद, विश्व विद्यालयको अध्यक्ष, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सचिवहरु, विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष र उपाध्यक्ष, विश्वविद्यालय रहने सम्बन्धित स्थानीय तहका प्रमुख स्वतः संरक्षक समितिका सदस्य रहन्छन् ।

बाँकी सदस्य संरक्षक समितिले नै मनोनयन गर्नेछ । जसमा प्राध्यापकमध्येबाट एक जना, आयुर्वेद चिकित्सा परिषद, वनस्पति विभागका महानिर्देशक, आयुर्वेद विभागका महानिर्देशक गरी ३ जना विज्ञ, आयुर्वेदसम्बन्धी उद्योगी व्यावसायीबाट ३ जना, शिक्षाप्रेमी र समाजसेवीबाट ३ जना सदस्य रहन्छन् ।

यीनै मनोनितमध्येबाटसंरक्षक समितिले सभापति चयन गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । पहिलो पटकका लागि भने नेपाल सरकारले संरक्षक समितिका सदस्यहरु मनोनयन गर्ने व्यवस्था राखिएको छ ।

संरक्षक समितिले आवश्यक नीति तथा मापदण्ड स्वीकृत गर्ने, विश्वविद्यालयको बार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने, दीर्घकालीन र अल्पकालीन रणनीति स्वीकृत गर्ने अधिकार राख्दछ । यसैगरी, विश्वविद्यालयको कार्यकारी प्रमुखको हैसियतमा संरक्षक समितिले विश्वविद्यालयको अध्यक्ष नियुक्त गर्नेछ ।
सिफारिस समितिले अध्यक्ष पदका लागि सार्वजनिक सूचना निकालेर आवेदन माग गर्ने र प्राप्त आवेदनहरुमध्येबाट बढीमा ६ जना कम्तीमा ३ जनालाई अन्तर्वार्तामा बोलाउने र त्यसमध्ये एक जना छनोट गरी संरक्षक समितिसमक्ष सिफारिस गर्नेछ ।
यसरी छनोट भएर आएका अध्यक्षले विश्वविद्यालयको कार्यकारी नेतृत्व लनेछन् । अध्यक्षलाई विश्वविद्यालयको तीन जना उपाध्यक्षको नाम सिफारिस गर्ने अधिकार दिइएको छ ।

यसैगरी, स्कुल प्रमुखको हैसियतमा प्रत्येक आयुर्वेद स्कुलमा एक जना डीन रहने, अनुसन्धान केन्द्र र शिक्षण अस्पतालको प्रमुखको हैसियतमा छुट्टाछुट्टै निर्देशक रहने प्रस्तावित व्यवस्था छ ।

संरक्षक समितिका सभापति, सदस्यहरु, विश्वविद्यालयका अध्यक्ष, उपाध्यक्ष, डीन र निर्देशक सबैको पदावधि ४ वर्षको हुनेछ ।

प्रस्तावित विधेयकमा आयुर्वेद विश्वविद्यालयले प्रत्येक प्रदेशमा आयुर्वेद कलेज सञ्चालन गर्न सक्ने व्यवस्था छ ।

सम्बन्धित शिर्षकहरु