काठमाण्डाै । लगातारको वर्षाका कारण पहाडि भेगका १३ वटा जिलाहरुका विभिन्न ठाउँका सडक अवरुद्ध हुँदा यातायात ढुवानि सेवा देखि लिएर अन्य सवारी आवत जावतमा नराम्रो प्रभाव परेको छ ।
दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, लमजुङ, मुस्ताङ, मनाङ सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुरमा बाढीपहिराले सडक अवरुद्ध गरेको हो । कतिपत ठाँउको अवरुद्ध सडक खुलिसकेका छन भने कतिपय सडक खुलाउने प्रयास भैरहेको छ ।
अरनिको राजमार्ग अन्तर्गत ८ वटा भित्री सडकमा गाडी चलेका छैनन् । पहिरोका कारण ललितपुरको चापागाउँ हेटौंडा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
नवलपरासी पूर्वमा पर्ने पूर्व पश्चिम राजमार्गको गैँडाकोट थुम्सीमा खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध सडक एकतर्फी खुलेको सडक विभागले जनाएको छ ।
त्यस्तै नवलपरासीकै दाउन्ने भन्ने ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक पनि एकतर्फी सञ्चालनमा आएको छ ।
लम्जुङको मर्स्याङ्दी गाउँपालिका ४ र बेशीशहर ६ मा खसेको पहिरोका कारण यो सडकखण्डमा गाडी चल्न सकेका छैनन् । यस्तै म्याग्दी जोमसोम सडकखण्डमा पनि गाडी चलेका छैनन् । यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएकाले गाडी नचलेको प्रहरीले जनाएको छ । यस्तै साँफे मार्तडी सडकखण्ड पनि अवरुद्ध भएको छ ।
बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । बिपी राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका २ सिन्धुलीमा पहिरो गएपछि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यस्तै दैलेख सुर्खेत सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे गुराँसे गाउँपालिका १ पिपलचौतारा दैलेखमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो ।








