अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा फेरि लकडाउन घोषणा

अस्ट्रेलिया । नोभेल कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउनका लागि सरकारले अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा लकडाउन लागु गर्ने घोषणा गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार राति १२ बजेदेखि मेलबर्नमा लकडाउन जारी हुनेछ । अस्ट्रेलियाका अन्य सहरहरुमा लकडाउन खुकुलो बनाउनुका साथै करोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धहरु हटाउने क्रम चलिरहेका बेला मेलबर्नमा लकडाउन जारी गरिएको हो ।

स्थानीय मिडिया रिपोर्टका अनुसार मेलबर्नका नागरिकलाई अत्यावश्यकबाहेकको अवस्थामा घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।

यो लकडाउन चार सातासम्म जारी रहने जनाइएको छ । तर, यस अवधिमा विद्यालय अथवा कार्यालयहरु र दैनिक उपभोग्य सामग्रीका लागि पनि प्रतिबन्ध लागु नहुने जनाइएको छ । यी स्थानहरुमा भौतिक दूरी कायम गर्न सुझाव दिइएको छ ।

मेलबर्न आउने सबै उडानहरु रद्द गरिएका छन् । सहरमा अनावश्यक घुमिरहेको पाइएमा नियन्त्रणमा लिइने र जरिवाना तिर्नुपर्ने प्रावधान राखिएको छ ।

सरकारी तथ्यांकका अनुसार अस्ट्रेलियामा हालसम्म ७ हजार ९०० कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् भने १०४ जनाको मृत्यु भएको छ । – बीबीसी

सम्बन्धित शिर्षकहरु