हरिशयनी एकादशी तथा तुलसी रोपण दिवसको महत्त्व – राजन लोहनी

हरिॐ तत्सत्

हरिशयनी एकादशी अर्थात् यो एकादशीलाई देवशयनी/आषाढी/पद्मनाभा एकादशीको नामले पनि प्रसिद्ध छ | यो समयमा विवाह, व्रतबन्ध जस्ता आदि कार्य गर्नु हुँदैन | आज देखि चौमास ( हरिशयनी एकादशी देखि हरिबोधनी एकादशीसम्मको ४ महिनाको समय हो |) शुरु हुन्छ |   आज तुलसीको विरुवा सार्ने  दिन । आषाढ शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हरिशयनी एकादशीका दिन आज हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर आँगनमा रहेको तुलसीका मठमा तुलसीको विरुवा रोप्ने/सार्ने  प्रचलन छ । एक महिना अघि (निर्जला एकादशीको दिन) विजारोपण गरिएको तुलसीलाई आज रोप्ने गरिन्छ । तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा पूजा गर्ने प्रचलन रहेको छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजाअर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ । “हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । आज घरघरमा तुलसी रोप्ने चलन छ ।”  चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम कार्य भएको बताउँदै “जसका घर आँगनमा तुलसीको मठमन्दिर राखी तुलसी रोपिन्छ, त्यहाँ देवताको बास भइरहन्छ । स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र तुलसीको बोट विरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान मानिसलाई सन्तान पैदा हुने जस्ता धेरै जनविश्वास प्राचीन कालदेखि चलिआएका छन्।” हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन (साधना) गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी (हरिबोधनी) एकादशीका दिनसम्मको  यो समय यात्राको लागि वर्जित गरिएको छ | हाम्रा महत्वपूर्ण चाडपर्व यसै समयमा पर्दछ | यो चौमासको समयमा हामीले साधाना गरेर शक्ति आर्जन गर्ने समय हो |

चतुर्मास अवधिमा श्रीविष्णु(हरि) भगवान्को पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ । हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । हरिशयनी एकादशीका अवसरमा आज फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

 

तुलसी को धार्मिक महत्त्व र वैज्ञानिक आधारहरु :-
तुलसीमा सयौं  रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोट रासँगैख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ । तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।
बिहानै तुलसीको पूजनले, तुलसीसँगको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको समिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घजीवन प्राप्त गर्छ  भन्ने कथन छ। यहाँसम्म कि तुलसी एउटा महाऔषधि भएकाले मृत्युका मुखमा परेका बिरामीहरूलाई पनि घाटका चिकित्सकहरूले मुखमा तुलसी राखिदिन प्रेरणा दिन्छन् । मृत्युपश्चात् पुनः देह निर्माणको प्रतीकस्वरूप पिण्ड, श्राद्वादि कार्य र दिवङ्गत पितृहरूले आफन्तहरूबाट प्राप्त गर्ने खानाको विश्वास स्वयं दिइएको पिण्डमा तुलसीको मञ्जरी राख्ने गरिन्छ भने देवकार्यमा अर्पण गरिने नैवेद्यहरूमा तुलसी नराख्दा विषाक्त र जूठोरूपमा लिइन्छ । अघिपछि दैनिकी हाम्रा खाद्य पदार्थहरूमा पनि तुलसीको प्रयोग गरी निर्विषाक्त पार्ने प्रयास गरिएको हुन्छ । विभिन्न कारणबाट खानाका पदार्थहरू जमिनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म मन, वचन र मानिसको क्रोध, आवेग, तनावका कारण पनि खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन् । तिनलाई निर्विषाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो । यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ । तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो । हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसाग लड्ने क्षमता भएको कुरा पुष्टिभएको छ ।

धार्मिक महत्त्व
शास्त्रहरूको मत छ, जीव र जगत्का रक्षक नारायण छन्, उनलाई विष्णुको रूपमा पनि लिइन्छ । ब्रमाण्डको सृष्टि रचना गर्दा उनी ब्रहृमाको रूपमा स्थापित हुन्छन् भने जगतको सञ्चालनमा उनको स्वरूप [विष्णु]को हुन्छ । अघि सती नारी वृन्दाको श्रापका कारण उनै विष्णुले वनस्पति झार तुलसीको रूपमा परिणत भई उपरोक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने तर्क पनि रहेको छ । तुलसी वृक्षकै रूपमा घरघरमा विष्णु स्थापित हुने र आषाढशुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिने र कार्तिक शुक्लमा तुलसीको बिहे उनै हरिसँग  गराइसकेपछि स्वधाम गमनतर्फ जाने शास्त्रीय मत रहेको छ । सुतलमा भक्त वलिको रक्षार्थ हरिशयन गर्ने क्रममा पनि यसलाई जोडिएको पाइन्छ । सनातन हिन्दू धर्मभित्रका प्रत्येक संस्कारमा तुलसीको अभावमा कतिपय कार्यहरू सम्पादन हुन सक्दैन। वैज्ञानिक दृष्टिकोण र चिकित्साको क्षेत्रमा समेत तुलसीको उपयोगिता  प्रशस्त रहेको  कुरामा शङ्का गर्ने ठाउँ छैन। मौसमी परिवर्तनबाट हुने रोगव्याधिबाट छुटकारा प्राप्त गर्न र खासगरी वर्षाको मौसममा खानेकुरामा तुलसीपत्र मिसाएर खाद्यपदार्थ ग्रहणमात्र गर्दा समेत रोगसित लड्ने सामर्थ्य प्राप्त हुने कुरा आयुर्वेदका विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ। तुलसी पत्रको सेवनबाट प्राप्त हुने केही लाभहरूलाई बुँदागत रूपमा यसरी समेट्न सकिन्छ :-

१. तुलसी पत्रको रस बनाएर सेवन गर्दा कडा ज्वरोको प्रकोपलाई शान्त बनाउन सकिन्छ। ज्वरो र टाइफाइडबाट ग्रस्त बिमारीले प्रत्येक दुई वा तीन घण्टामा तुलसीको रस सेवन गर्दा रोगको प्रकोपबाट जोगिन सक्दछन्।
२. कतिपय आयुर्वेदिक खोकीको औषधीमा तुलसीपत्रको प्रयोग गरिएको हुन्छ, आयुर्वेदिक  स्वास्थ्य उपचारका क्रममा क्षयरोग, दम जस्ता रोग निवारणका निमित्त पनि तुलसी लाभदायी औषधी हो भनिएको पाइन्छ ।
३. तपाई रुघा, मर्की, सर्दीबाट पीडित हुनुहुन्छ भने केवल तुलसीका सादा पत्रहरूको सेवन गर्नुहोस्, तपाईले पक्का स्वास्थ्यलाभ गर्नुहुन्छ ।
४. विषालु कीरा, फट्याङ्ग्रा र सर्पको डँसाइबाट ग्रस्त व्यक्तिले तुलसी पत्रको रस, यसको फूल र जरा मिसाएर लेप बनाई घाउ वा डसेको स्थानमा लगाउँदा विषको फैलावट हुने क्रमलाई शान्त बनाउन सक्नुहुन्छ |
५. तुलसीको तेलमा भिटामिन सी, प्रोटिन, क्याल्सियम र फोस्फोरस तत्त्वको मात्रा अत्यधिक रूपमा प्राप्त हुन्छ । त्यस्तै यस वनस्पतिमा एन्टीब्याक्टेरियल, एन्टीफङ्गल र एन्टीभाइरल गुणहरू पनि विद्यमान हुन्छन्।
६. मधुमेहका दीर्घरोगीहरूले पनि तुलसीको प्रयोग गरेर लाभ प्राप्त गर्न सक्दछन् । यस वनस्पतिले पाचन प्रक्रियालाई नियमित र बलियो तुल्याउन सघाउ पर्याउँछ ।
७. तुलसीको तेललाई एन्टी मलेरियल औषधीका रूपमा प्रयोग गर्न पनि सकिन्छ। एन्टीबोडी तत्त्व हुनाले तुलसीले हाम्रो शरीरको इम्यूनिटी शक्तिलाई पनि बढाउँछ ।
८. तुलसीको नियमित प्रयोग गर्नाले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई सन्तुलित तुल्याउन समेत मद्दत गर्दछ।
तुलसीको सेवन गर्दा लाभ त हुन्छ तर यसको बढी प्रयोग गर्दा यसबाट बेफाइदा समेत हुन्छ, किनभने तुलसीमा ऊष्मता हुन्छ। त्यसैले पुरूषहरूले दिनभरिमा ५/७ वटाभन्दा धेरै तुलसीपत्रको सेवन गर्नु हुँदैन । हुन त महिलाका निमित्त तुलसीपत्र वरदान नै हो तर एक दिनमा ४-५ तुलसीपत्र उनीहरूका निमित्त पर्याप्त हुन्छ। तुलसीपत्रको सेवन गर्दा दूधको तर वा दहीका साथमा गर्नाले यसको प्रभाव सन्तुलित हुनपुग्छ । तर गर्भावस्थाको समयमा यसको बढी प्रयोग गर्नु पटक्कै राम्रो हुँदैन। यद्यपि गर्भावस्थाको समयावधिमा दुखाइ बढ्यो भने तुलसीपत्र र मिस्री मिसाएर काढा बनाएर फाइदा लिन सकिन्छ । यसरी काढा बनाउँदा तुलसी पत्रलाई रातभरि पानीमा भिजाएर भोलिपल्ट बिहान त्यसलाई मिस्री मिसाएर पकाउनु पर्छ। कुनै नारीको स्तनमा गाँठागुठी पलाएमा वा दुखाइ भएमा समेत यस्तो काढा लाभदायी हुन्छ। यस्तो अवस्थामा २० ग्राम तुलसीको रस र मकैको पात मिसाएर, यसमा दस ग्राम अश्वगन्धा रस र दस ग्राम मह राखेर उमालेर खाँदा राम्रो हुन्छ। तुलसीपत्रको प्रयोगबाट फाइदा र बेफाइदा दुबै हुने भएकाले खासगरी महिला र केटाकेटीले यसको विशेष प्रयोग गर्दा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।

युगौयुगदेखि तुलसीको महत्त्व  कायमै छ । सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसीलाई त्रेतायुगमा रामको नामले यसलाई ज्ञानको प्रतीक मानियो भने त्रेतायुगमा भक्तिरूपी सीताको अभावमा चित्रकुटमा रामले आफ्नो आसुले तुलसीको सिञ्चन गर्नुभयो । द्वापर युगमा तुलसी सत्यभामाकी जीवन सङ्गनि नै बनिन् | कृष्णप्रियासमेत भई गोलोकमा राधिकाको नामले तुलसीलाई पुकारियो । वृन्दावन पूरै तुलसीको वनले ढाकिएको क्षेत्र हो । तुलसी वनलाई नै वृन्दावन भनिन्छ । वृन्दावन पुग्दा मन हषिर्त र आनन्दित हुने कारण तुलसीको वास्ना नै हो । मन हषिर्त र प्रफुल्लित भएपछि नै जीवन धन्य बन्छ र जीवनोपयोगी र सामाजिक मर्यादाअनुकूलको काम सम्पन्न हुनपुग्छ । सुकेको झारको रूपमा समेत उत्तिकै उपयोगी भएको तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन् हर मानवका लागि उपयोग सिद्ध भएको छ ।

तुलसीमा पानी चढाउने मन्त्र

महाप्रसादजननी, सर्वसौभाग्यवर्धिनी
आधिव्याधिहरा नित्यं, तुलसी त्वं नमोस्तुते।।

तुलसीको ध्यान गर्ने मन्त्र
देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये।।

तुलसीको पूजा गर्ने समयमा यो मंत्रको उच्चारण गर्ने |
तुलसी श्रीर्महालक्ष्मीर्विद्याविद्या यशस्विनी।
धर्म्या धर्मानना देवी देवीदेवमन: प्रिया।।
लभते सुतरां भक्तिमन्ते विष्णुपदं लभेत्।
तुलसी भूर्महालक्ष्मी: पद्मिनी श्रीर्हरिप्रिया।।

तुलसीको पात टिप्ने मन्त्र
ॐ सुभद्राय नमः
ॐ सुप्रभाय नमः
मातस्तुलसि गोविन्द हृदयानन्दकारिणी
नारायणस्य पूजार्थं चिनोमि त्वां नमोस्तुते ।

हरिशयनी एकादशी तथा तुलसीमाताको बारेमा थप जानाकारी  संस्कृतिविद् गुरु डा. चिन्तामणि योगीको दिव्य वाणी र ज्ञानबाट लिनसक्नुहुनेछ |

https://www.youtube.com/watch?v=T2CIQR_sVyM&t=11s

(लेखक :- जरोकिलो अभियान्ता हुनुहुन्छ |)

सम्बन्धित शिर्षकहरु