विराटनगर महानगरपलिकाको बजेट सार्वजनिक, अघिल्लो भन्दा झण्डै आधा बजेट कम

विराटनगर । विराटनगर महानगरपलिकाले आर्थिक वर्ष २०७७–७८ को लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षका लागि २०७७–७८ को यो बजेट चालू आर्थिक वर्षको भन्दा २ अर्ब ५२ करोड ९३ लाख भन्दा कम रहेको छ ।

महानगरपलिकाले बुधबार बैठक बसेर महानगरपालिकाले पुँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षाका लागि ३६ करोड रुपैयाँ खर्च हुने बताएको छ ।

चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालू आर्थिक वर्षमा विराटनगरमा एसियाली विकास बैंकको क्षेत्रीय सहरी विकास परियोजनाको मात्रै १ अर्ब ७७ करोड २३ लाख ५५ हजार बजेट भएकाले बजेटको आकार ठूलो भएको थियो ।

महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ लाख आम्दानी हुने बताइन् । त्यस्तै वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट ससर्त अनुदान १ अर्ब २ करोड र प्रदेशबाट सशर्त २ करोड ९० लाख अनुदान प्राप्त हुने महानगरले बताएको छ ।

त्यस्तै संघीय सरकार विशेष अनुदानबाट १३ करोड रुपैयाँ, प्रदेशबाट समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट ३ करोेड २६ लाख महानगरपालिकामा प्राप्त हुने बजेटमा उल्लेख गरेको छ ।

महानगरपालिकाले स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार रुपैयाँ, शैक्षिक विकास कार्यक्रममा ५६ करोड १३ लाख ५ हजार रुपैयाँ, महिला, बालबालिका, युवा विकास तथा खेलकुदमा २ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै फोहोर व्यवस्थापनका लागि ल्याडफिल साइटको जग्गा खरिद तथा फोहोरमैला व्यवस्थापनमा ११ करोड ४९ हजार ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा महानगरको आन्तरिक आम्दानी ५९ करोड ९८ लाख १५ हजार थियो । लकडाउनका कारण कर नउठेको अवस्थामा महानगरले आगामी वर्षका लागि करिब ३० करोड भन्दा बढी आन्तरिक स्रोत बढ्ने अनुमान गरेको छ ।

त्यसै गरी विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षबाट एक घर एक रसिलो विरुवा रोप्ने नीति लिएको छ । महानगरपालिकाले प्रजातन्त्र सेनानीलाई मासिक २ हजार ५ सय आजीवन दिने पनि घोषणा गरेको छ ।

सम्बन्धित शिर्षकहरु