कोरोना भाइरसको प्रभावकारी औषधी भेटियो, डेक्सामेथासोनको प्रयोग सफल

काठमाडौं । डेक्सामेथासोन नामक औषधी प्रयोग गरी कोभिड–१९ (कोरोना) भाइरस संक्रमित गम्भीर बिरामीको ज्यान जोगाइएको बेलायती विशेषज्ञहरूले जानकारी दिएका छन्। सस्तो र सर्वसुलभ पाइने डेक्सामेथासोन बाथ र दमको समस्या निदान गर्न प्रयोग हुने गरेको छ।

संक्रमितको उपचारका लागि अनेक विकल्प र परीक्षण गरिरहेका बेलायती चिकित्सक र विशेषज्ञहरूले गम्भीर बिरामीको उपचारका लागि डेक्सोमेथासोनको प्रयोग सहायक सिद्ध हुने दावी गरेका छन्। सन् १९६० को दशकदेखि बाथ र दमको उपचारमा डेक्सामेथासोन औषधी प्रयोग हुँदै आएको छ।

यो औषधीको निकै थोरै मात्रा बिरामीलाई खुवाइएको र त्यसपछि बिरामीको स्वास्थ्यमा आएको बताएका छन्। तत्कालका लागि यो औषधी नै कोरोना संक्रमितका लागि उपयोगी हुनसक्ने उनीहरूको भनाई छ। गम्भीर स्थितिमा पुगेका र भेन्टिलेटरमा राखिएका बिरामीले ज्यान गुमाउन सक्ने जोखिमलाई यो औषधी प्रयोगले एक तिहाइसम्म कम गर्न सक्ने बीबीसीमा उल्लेख छ।

कोरोना संक्रमण फैलन शुरु हुँदै गर्दा बेलायतमा यो औषधी प्रयोग गरिएको भए कम्तिमा पाँच हजार मानिसको ज्यान बचाउन सकिने देखिएको शोधकर्ताहरूले अनुमान गरेका छन्। यो औषधी सस्तो पनि भएकाले आर्थिक रुपमा विपन्न मुलुकका नागरिकले समेत खरिद गर्न सक्छन्।

बेलायती चिकित्सकहरूले संक्रमितको उपचारका लागि अहिले बजारमा उपलब्ध र सम्भव सबै औषधीहरूको प्रयोग र परीक्षण गरिरहेको जनाइएको छ। अन्य औषधी प्रयोगले संक्रमितको स्वास्थ्यमा सुधार नआएपनि डेक्सामेथासोनले निकै सहयोग गरेको उनीहरूले बताएका छन्।

सम्बन्धित शिर्षकहरु