सांसद विकास कोषको रकम कोरोना परीक्षणमा खर्च गर्न माग

बुटवल । साझा पार्टीले कोरोना संक्रमण झनै बढ्ने अवस्था रहेकाले परीक्षणको दायरा बढाउनका लागि कोषको रकम किट खरिदमा खर्च गर्न माग गरेको छ । साझा पार्टी प्रदेश ५ समितिले सांसद विकास कोषका नाममा सांसदहरुलाई बाँडिने रकमले कोरोना परीक्षण किट खरिद गर्न माग गरेको हो ।

पार्टीका प्रदेश संयोजक अनुपमान सैंजुले मंगलबार विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश सांसदहरूलाई बर्सेनि करिब २० अर्ब रकम बाँड्नु चरम नीतिगत भ्रष्टाचारको नमूना भनेका छन् । उनले उक्त कोष खारेज गर्न माग गरेका छन् ।

सांसद बिकास कोषको रकम कोभिड १९ परीक्षण सामग्री खरिद र क्वारेन्टाइन बनाउन लगानी गर्न साझा पार्टीले प्रदेश सांसदहरुहरुलाई आग्रह गरेको छ ।
‘महामारीको बेलामा गर्नुपर्ने काम नगरेर बिकास खर्चको नाममा करोडौं रुपैयाँ आफ्नो मातहतमा राख्ने हो भने भोलिका दिनमा नागरिकको प्रश्नको जवाफ दिन गाह्रो हुनेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं, ‘विज्ञप्तिमा लेखिएको छ, ‘प्रदेश सभाका सबै सांसद तथा आम सर्वसाधारणलाई उक्त बजेट बहिस्कार गरेर प्रदेशका नागरिकको हितका पक्षमा उभिन अपील गर्दछौं ।’

भारत लगायत मुलुकबाट नेपालीहरु आवश्यक स्वास्थ्य जाँच बिना नै नेपाल प्रवेश गरिरहेका, क्वारेन्टाइनको उचित ब्यवस्थापन नभएको,संघ सरकारको मात्रै भर परेर प्रदेशका नागरिकको कोरोना परीक्षण गर्न किट अभावको कारण देखाउनु प्रदेश सरकारको लागि अशोभनीय भएको र यसले प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड १९ विरूद्ध लड्न सरकारले निजी क्षेत्र र आम सर्वसाधारणसँग सार्वजनिक अपील गरेर अरबौं रूपैयाँ जम्मा गर्ने प्रयास गरेको भन्दै साझाले सांसद विकास कोषका नाममा भइरहेको चरम नीतिगत भ्रष्टाचार बन्द गर्न माग गरेको छ ।

सम्बन्धित शिर्षकहरु